७ असार ०७४, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले मंसिर अन्तिमसम्म प्रदेश र केन्द्रीय संसदको निर्वाचन एकै चरणमा सम्पन्न गर्ने गरी सरकारले गृहकार्य सुरु गरेको बताएका छन् ।
दुई वटै निर्वाचन एकै चरणमा गर्नु पर्ने उनले बताए । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता महतले भने भने, ‘दुईवटा निर्वाचन छुट्टाछुट्टै गर्दा धेरै खर्चिलो र झन्झटिलो हुने भएकोले एकै चरणमा निर्वाचन गर्नुपर्छ । सरकारले त्यही अनुसार गृहकार्य सुरु गरिरहेको छ ।’
एकै चरणमा निर्वाचन गर्दा राजनीतिक दलहरुलाई उम्मेदवारका लागि टिकट दिन पनि सहज हुने उनको जिकिर छ ।
राजपाको सहमतिमा प्रदेश नम्बर २ को निर्वाचन तेस्रो चरणको लागि सारिएको भन्दै उनले असोज २ गतेपछि निर्वाचन नसर्ने जिकिर गरे । उनले भने, ‘असोज २ गतेको निर्वाचन अब कसैलेपनि टार्न सक्दैन ।’
राजपाले आफूहरुसँग एउटा सहमति गरेको र बाहिर आएर सहमति मान्दिन भनेको उनको दाबी छ ।