ट्राफिक प्रहरीलाई जरिवानाको १५ प्रतिशत रकम नदिन विकास समितिको निर्देशन

२६ जेठ ०७४, काठमाडौं । संसदको विकास समितिको बैठकले ट्राफिक नियम उल्लंघन गरेवापत गरिने जरिवानाको १५ प्रतिशत रकम ट्राफिक प्रहरीलाई नदिन निर्देशन दिएको छ ।

समितिको शुक्रबारको बैठकले ट्राफिक प्रहरीलाई यस्तो भत्ता उपलब्ध गराउनुको साटो जोखिम तथा प्रोत्साहन भत्ता उपलब्ध गराउन निर्देशन दिएको हो ।

यसैगरी समितिले १२० मिटरको दुरीमा जेब्रा क्रसिङ राख्न साथै सडक पेटी नभएको ठाउँमा बनाउन निर्देशन पनि दिएको छ ।

बैठकले सडक विभाग, यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीलाई उपत्यकाको सडकमा १२० मिटरमा जेब्रा क्रसिङ राख्ने गरी ७ दिनभित्र मापदण्ड बनाउन र २ महिनाभित्र कार्यान्वयन गर्न निर्देशन दिएको छ । साथै, पैदलयात्रीहरुलाई सडक अनुशासनको कारबाही गर्नु अघि जनचेतना जगाउन भनेको छ ।

विकास समितिले ट्राफिक बत्ति पुनः सुचारु गर्ने प्रक्रिया छिटो निष्कर्षमा पुर्‍याउन भनेको छ । यदि यो प्रक्रियाले समय लिने भए आफ्नो स्रोत वा वैकल्पिक व्यवस्थापनबाट ५ महिनाभित्र ट्राफिक बत्ति पुनः सुचारु गर्न निर्देशन दिएको छ ।

ट्राफिक प्रहरीले पछिल्लो पटक जेब्रा क्रसिङ बाहेकका स्थानबाट बाटो काट्ने पैदल यात्रुलाई २०० रुपैयाँ जरिवाना वा ३ घन्टा थुन्ने गरेकोमा चर्को आलोचना भइरहेको छ ।

तपाइको मत