बिचरा प्रधानमन्त्री आत्तिएर थाल खाउँ कि भात खाउँको अवस्थामा हुनुहुन्छ – एमाले अध्यक्ष केपी शर्मा ओली

९ जेठ ०७४, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मंगलबार कांग्रेस सभापति शेरवहादुर देउवाप्रति आक्रामक रुपमा प्रस्तुत भएका छन् ।

KP oli

एमाले अध्यक्ष ओली मंगलबार एमाले प्रचार बिभागले बानेश्वरको इन्द्रेणी कम्प्लेक्समा आयोजना गरेको पत्रकार सम्मेलनमा देउवामाथि आक्रामक रुपमा प्रस्तुत भएका हुन् ।

देउवामाथि सत्ताभोगीको आरोप लगाउँदै ओलीले २०-२२ दिन पनि पर्खिन नसक्ने भन्दै देउवाले प्रचण्डलाई कुर्सी मागेर ‘थाल खाउँ कि भात खाउँ’को अवस्थामा पुर्‍याएको बताए ।

‘प्रधानमन्त्रीलाई भेट्नै हुँदैन, मलाई कहिले कुर्सी दिने भन्छन् ।’ ओलीले भने,  ‘बिचरा प्रधानमन्त्री आत्तिएर थाल खाउँ कि भात खाउँको अवस्थामा हुनुहुन्छ ।’

उनले अघि भने, ‘मैले बिहान (तीन दलका शीर्ष नेताहरुको बैठक)मा पनि कुर्सी चाहियो भन्ने नेताजीलाई सोधेँ, लोकलाज भन्ने केही हुन्न ? २०-२२ दिन पनि पर्खिन नसक्ने ? यस्ता मान्छेले अस्थिरता ल्याए ।’

एमाले अध्यक्ष ओलीले कांग्रेस सभापति देउवा सत्ताका लागि जे पनि गर्न सक्ने नेता भएको भन्दै कुर्सीका लागि कांग्रेस कार्यकर्तालाई अरुकै चिन्हमा भोट हाल्नका लागि मुन्ट्याएर पठाएको टिप्पणी समेत गरे ।

‘लोकतन्त्र भन्ने त उहाँलाई केही मतलबै छैन । हुन पनि नेपालमा लोकतन्त्रको आन्दोलन चलिरहेका बेला बेलायतका गल्लिमा बरालिँदै हुनुहुन्थ्यो ।’ एमाले अध्यक्ष ओलीले भने, ‘नेपाल फर्केर गृहमन्त्री भएपछि घरमा बसेको बालकलाई गोली हानेर मार्दा ‘गोलीको आँखा हुँदैन’ भनेर गैरजिम्मेवार जवाफ दिनुभयो । यस्तोबाट के अपेक्षा गर्ने ?’

एमाले अध्यक्ष ओलीले देउवा प्रधानमन्त्री भए दोस्रो चरणको स्थानीय चुनाव र त्यसपछि प्रदेश तथा केन्द्रीय संसदको चुनाव हुनेमा समेत आशंका व्यक्त गरे ।

पहिलो चरणको स्थानीय तहको निर्वाचन बैशाख ३१ गते सम्पन्न भएको र दोस्रो चरणको यही जेठ ३१ गते हुने निर्वाचन एउटै चुनाव भएकाले चुनाव नसकी सरकार फेर्न नमिल्ने ओलीले बताए ।

आफूले प्रधानमन्त्री प्रचण्डको राजीनामा रोक्नु भन्दा पनि चुनावको सुनिश्चितता र विधि प्रक्रियाका लागि कुरा उठाएको ओलीले दावी गरेका छन् ।

तपाइको मत