पूर्वराजाको भोज खाएको सबैलाई थाहै छ, ठूला कुरा नगरे हुन्छ – उपेन्द्र यादव

दोस्रो चरणको चुनाव अघि संशोधन विधेयक पास गर्ने सहमति

Forum

२१ बैशाख ०७४, काठमाडौं । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले सरकारसँग पहिलो चरणको चुनावपछि र दोस्रो चरणको चुनाव अघि संविधान संशोधन विधेयक पास गर्ने सहमति भएकाले आफूहरु चुनावमा गएको बताएका छन् ।

बुधबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी फोरम अध्यक्ष यादवले सो कुरा बताएका हुन् ।

यादवले राष्ट्रिय जनता पार्टी नेपालले मंगलबार पत्रकार सम्मेलन गरी उनलाई लगाएको आरोपको खण्डन गर्दै राजपामाथि कडा टिप्पणी गरेका छन् ।

मधेसी दलहरुले उठाउँदै आएको एजेण्डालाई बीचमै छाडेर यादवले चुनावमा लागेको भनि राजपा पक्षधरले आरोप लगाएपछि यादवले बुधबार आयोजित पत्रकार सम्मेलनमा देशमा घट्ने सम्भावित घटनालाई मध्यनजर गर्दै आफ्नो पार्टी चुनावमा सहभागि भएको बताएको छ ।

मोर्चा सकिए मधेस आन्दोलन नै समाप्त

मंगलबार राजपाको बैठकले यादवले चुवानमा गएर धोका दिएको भन्दै अब मधेसी मोर्चाको औचित्य समाप्त भएको बताएको थियो । तर यादवले, मोर्चाको महत्व आफूले जति अरु मधेसी नेताले नबुझेको भन्दै ‘कसैले मोर्चाको औचित्य समाप्त भएको भन्छ भने उसकै औचित्य समाप्त भएको बुझ्नुपर्ने’ बताए ।

उनले भने, ‘मोर्चाको औचित्य समाप्त भएको कसैले भन्छ भने उसकै औचित्य अब सकिएको बुझ्नुपर्छ । मोर्चा सकिए मधेस आन्दोलननै समाप्त हुन्छ ।’

उनले राजपाका कोही नेताले आफूलाई भेटेर चुनावमा गएकोमा बधाई दिएको दाबी गर्दै कोही नेताको रबैयाले भने आफू आश्चर्यचकित भएको बताए ।

पूर्वराजाको भोज खाएको सबैलाई थाहै छ, ठूला कुरा नगरे हुन्छ

राजेन्द्र महतोको नाम नलिइकन फोरम अध्यक्ष यादवले महतोप्रति लक्षित गर्दै भने, ‘जसले मोर्चाको औचित्य समाप्त भएको भन्छ । उसले सोल्टी होटलमा गएर पूर्वराजाको भोज खाएको कुरा सबैलाई थाहै छ, कसैले ठूला कुरा नगरे हुन्छ । ’

उनले राजपाले पनि चुनाव चाहेको भन्दै खाली दल दर्ता नभएको र चुनाव चिन्ह नपाएकाले मात्रै बार्गेनिङ गरिरहेको दाबी गरे ।

यस्तै यादवले पहाडमा प्रभावै नभएको राजपाले अहिले किन उम्मेदवारी दिनु आवश्यक नै नभएको भन्दै आफ्नो पार्टीको भने ७५ ओटै जिल्लामा संगठन भएकाले उम्मेद्वारी दर्ता गराएको बताए ।

तपाइको मत