१५ बैशाख ०७४, काठमाडौं । सरकार र विद्यार्थी संगठनहरुबीचको वार्तामा निजी विद्यालयहरुले बढाएको शुल्क फिर्ता लिने साथै शुल्क फिर्ता नलिने विद्यालयहरुको दर्ता खारेजी गर्ने सहमति भएको छ ।
निजी विद्यालयको शुल्क वृद्धिविरुद्ध आन्दोलनरत विद्यार्थी संगठन र शिक्षामन्त्री धनिराम पौडेलबीच शुक्रबार वार्ता भएको थियो । निजी विद्यालयका प्रतिनिधिबिना शिक्षा मन्त्रालयमा भएको वार्तामा चारबुँदे सहमति भएको छ ।
यो सहमतिसँगै विद्यार्थी संगठनहरुले आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएको छ ।
वार्तामा १५ दिनभित्र शुल्क फिर्ता लिने र फिर्ता नगर्ने विद्यालयको दर्ता खारेज गर्ने सहमति भएको अखिल क्रान्तिकारीका उपाध्यक्ष रन्जित तामाङले जानकारी दिए ।
‘संस्थागत विद्यालयले नियमावली तथा निर्देशिका विपरीत बढाएको शुल्क १५ दिनभित्र फिर्ता गर्न तत्काल निर्देशन दिने’ सहमति पत्रमा लेखिएको छ, ‘बुँदा नम्बर १ बमोजिमको निर्देशन कार्यान्वयन नगर्ने विद्यालयलाई शिक्षा ऐन तथा नियमावली बमोजिम दर्ता खारेजीसम्मको कारबाही गर्ने ।’