४१ केन्द्रबाट १२ हजार ८ सय ९२ परीक्षार्थी सहभागी : १ हजार ५ सय ३१ जनशक्ति परिचालन
४ चैत्र, राजबिराज । एसएलसीबाट रुपान्तरीत माध्यमिक शिक्षा परीक्षा (एसईई)को पहिलो दिन मर्यादित ढङ्गले सम्पन्न भएको छ ।
बिहीबारदेखि शुरुभएको उक्त परीक्षामा नियमित तर्फ ८ हजार ६ सय ३९, एकजाम्टेड तर्फ १ हजार ४ सय ६९ र आंशिक ग्रेड बृद्धितर्फ २ हजार ७ सय ८४ गरी कुल १२ हजार ८ सय ९२ परीक्षार्थी सहभागी छन् ।
परीक्षार्थी मध्ये छात्रको तुलनामा छात्राको संख्या बढी देखिएको छ ।
जिल्ला शिक्षा अधिकारी दोलराज पाण्डेकाअनुसार यसपटक छात्र तर्फ ५ हजार ९ सय ४८ र छात्रा तर्फ ६ हजार ९ सय ४४ जना परीक्षार्थी सहभागी भएका छन् ।
परीक्षाका लागि जिल्लाभर ४१ वटा परीक्षा केन्द्र कायम गरिएको छ ।
विगतमा जस्तो परीक्षा केन्द्र बाहिर लाग्ने अभिभावकको मेला पनि यो वर्ष देखिएको छैन । विगतमा अनुगमन टोली आउँदा सबैले चिटले गाडी भरेर फर्कन्थे । तर यसपल्ट परीक्षा केन्द्रमा फरक दृष्य देखिएको छ ।
अनुगमन टोलीले परीक्षा कोठाभित्र फाटफुट चिट भेटृाए पनि अंग्रेजी विषयको परीक्षाको वातावरण विगतको तुलनामा निकै फरक थियो । परीक्षा हल र अधिकांश केन्द्रको गतिविधि गत वर्षहरुको तुलनामा सुधारिएको देखिएको थियो ।
‘यसलाई शिक्षाका लागि शुभ संकेत मान्नुपर्छ’ नागरिक संजाल सप्तरीका अध्यक्ष सुखराम यावादले भने, ‘तुलनात्मक रुपमा यसपल्टको परीक्षा मर्यादीत र सभ्य देखिएको छ ।’
बिहीबार विहान ८ बजे अंग्रेजी विषयको परीक्षा सञ्चालन भएको ३० मिनेटपछि प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल, शिक्षा अधिकारी पाण्डे, प्रहरी उपरीक्षक अनुराग द्विवेदी, पत्रकार सम्मिलित अनुगमन टोली परीक्षा केन्द्रहरुमा पुगेका थिए ।
एसएलसी यो वर्षदेखि सेकेन्डरी एजुकेशन इक्जामिनेशन (एसईई) मा रुपान्तरण
शिक्षा ऐन आठौं संशोधन लागू भएपछि तहगत संरचना बदलियो । गत असार १५ गतेदेखि लागू ऐनले अब विद्यालय तहको संरचना मात्र परिवर्तन गरेन, बाल शिक्षा समेट्दै कक्षा आठसम्म आधारभूत र नौ देखि १२ सम्म माध्यमिक गरी दुई तहमा मात्र विद्यालय संरचना तय ग¥यो ।
कक्षा १२ को परीक्षाको नाम एसएलसी हुनेगरी संशोधन भएपछि यस वर्षदेखि कक्षा १० सम्मलाई माध्यमिक शिक्षा परीक्षाको रुपमा लिन सुरु गरिएको छ । यसअघि, कक्षा ११ र १२ लाई उच्च माध्यमिक तह मानिन्थ्यो ।
उच्च मावि तह प्रवेशका लागि लिईने प्रवेशिका परीक्षा स्कुल लिभिङ सर्टिफिकेट (एसएलसी) यो वर्षदेखि सेकेन्डरी एजुकेशन इक्जामिनेशन (एसईई) मा रुपान्तरण भएको हो ।