२७ फागुन, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बलको ज्यादती निन्दनीय भएको प्रतिक्रिया दिएका छन् ।
बिहीबार कञ्चनपुरको आनन्दबजारमा कल्भर्ट निर्माणको विषयमा विवाद हुँदा एसएसबीको गोली लागेर पुनर्वासका नेपाली युवा गोविन्द गौतमको मृत्यु हुनु अत्यन्त दुखद भएको उल्लेख गर्दै उपाध्यक्ष रावलले घटनाको भत्र्सना गरेका हुन् ।
एक प्रेस विज्ञप्ति जारी गर्दै रावललेे भारतीय प्रहरीले नेपालीको हत्या गरेर अन्तर्राराष्ट्रिय कानुनसँगै मित्रवत् छिमेकीपनको समेत खिल्ली उडाएको टिप्पणी गरेका छन् ।
भारतीय सुरक्षा बलले नेपाली भूमिमा आएर नेपालीकै हत्या गर्नु नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाभिमान र स्वाधीनतामाथिको हमला भएको उल्लेख गर्दै विज्ञप्तिमार्फत रावलले भारत सरकारसँग वार्ता गरेर सीमाका नेपालीको रक्षा गर्न नेपाल सरकारसँग माग गरेका छन् ।