२१ असोज, बारा । तराई मधेस लोकतान्त्रिक पार्टीका महामन्त्री जितेन्द्र सोनलले अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि पूर्वप्रधामन्त्री केपी ओलीकै बाटोमा हिडेको बताएका छन् ।
विजया दशमीको उपलक्ष्यमा बाराको रामपुर टोकनीमा बिहीबार आयोजित शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै सोनलले सरकार गठनका बेला मोर्चासँग भएको तीन बुँदे सहमति कार्यान्वयनका लागि ‘प्रचण्ड’ सरकार इमान्दार नदेखिएको भन्दै मधेसको सवालमा प्रचण्ड पनि ओलीकै लाइनमा हिडेको बताए ।
सोनलले छठसम्म संविधान संशोधन मार्फत् मधेसको माग पूरा नगरिए मोर्चा आन्दोलनको आँधीबेहरी लिएर मधेसमा फेरि झर्ने भन्दै आन्दोलनकै बलबाट मधेसीको माग पुरा गराउने दाबी गरे ।
उनले मधेसको मुक्ति कांग्रेस एमाले र माओवादीबाट सम्भव नरहेको बताउँदै मधेसी दलले नै मधेशीलाई अधिकार सम्पन्न बनाउने बताए ।