२६ भदौ, काठमाडौं । तत्कालीन नेकपा माओवादी शान्ति प्रक्रियामा आउँदा डा. सुन्दरमणि दीक्षित माओवादी र त्यस पार्टीका नेतृत्व प्रचण्डका समर्थक थिए ।तर, यतिबेला उनै दीक्षीत त्यही पार्टी र त्यही नेतृत्वको विपक्षमा उभिएका छन् ।
माओवादी समर्थक डा. दीक्षितले माओवादी युद्ध चलिरहेको बेला सिंहदरबारमा बसेकालाई भनेका थिए, ‘तिमीहरूले देश सम्हाल्न सक्दैनौँ, त्यसकारण माओवादी नेता प्रचण्डलाई बोलाऊ र सरकार सुम्पिदेऊ ।’ तर तिनै दीक्षितले एउटा अन्तर्वार्तामा यतिबेलाका पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विचरा भनेका छन् भन्दै
ले अन्नपूर्णपोष्टमा “प्रचण्ड साँच्चै विचरा हुन् ?” शीर्षकमा आफ्ना विचार व्यक्त गरेका छन् ।आदित्यमान श्रेष्ठले अन्नपूर्णपोष्टमा लेखेका मुख्य अंश :
माओवादी शान्ति प्रक्रियामा आउँदा डा. सुन्दरमणि दीक्षित दाहालका समर्थक थिए । वर्षौंसम्म समर्थन गर्दा डा. दीक्षित माओवादी भएछन् भन्ने भान पर्यो । माओवादी युद्ध चलिरहेको बेला डा. दीक्षितले सिंहदरबारमा बसेकालाई भनेका थिए, ‘तिमीहरूले देश सम्हाल्न सक्दैनौँ, त्यसकारण माओवादी नेता दाहाललाई बोलाऊ र सरकार सुम्पिदेऊ ।’
तर कालान्तरमा उनी माओवादीविरोधी भए । कारण एउटा क्रान्तिकारी शक्तिबाट उनले जुन आशा गरेका थिए, सो उनले पाएनन् । त्यसमा उनले सबभन्दा ठूलो कमजोरी दाहालकै भएको देखे । अहिले दोस्रोपटक देशको प्रधानमन्त्री हुन पुग्दा डा. दीक्षितले दाहाललाई विचरासम्म भन्न पुगे । कारण दाहाल एउटा सिंहजस्तो नेता आज स्यालको अवस्थामा पुगेको उनले वर्णन गरे ।
हुन पनि जुन व्यक्ति पहिलो पालि आफ्नै बलबुतामा प्रधानमन्त्री भएका थिए र दुईतीनजनालाई प्रधानमन्त्री बनाएका थिए, सोही मानिस एउटा विदेशी शक्तिको आशीर्वाद र चलखेलबाट त्यही प्रधानमन्त्रीको पदमा बहाली गर्न पुग्दा आत्मग्लानी हुनु स्वाभाविकै हो ।
त्यो पनि अर्काको डर, धम्कीमा परेर गर्नुपरेको थियो । त्यसबाट ग्लानी अरू गहिरिने भयो । यस्तो छवि मेटाउन उनले ओलीले उठाएका सबै विकासका काम अगाडि बढाउने कुरा संसदमा गरे । तर उनी जुन निरीह हालतमा देखिन्छन्, उनले बोलेको वचन पालना गर्न सक्लान् भनेर विश्वास लाग्दैन ।
अझ भारत दाहालले एउटा लेखमा भनेजस्तो हुने भयो भने पुष्पकमल दाहालले भारतलाई नेपालको हितविपरीत अनेक आयोजना सुम्पेर विगतका सबै प्रधानमन्त्रीलाई पछाडि पार्नेछन् । मैले हेर्दा उनी यतिसारो तल खस्लान् जस्तो लाग्दैन । उनका वर्तमान सरकारी सहयोगी शेरबहादुर देउवा र नेपाली कांग्रेसको पिछलग्गु हुन पुगे भने अर्कै कुरा हो । त्यसो भयो भने उनी पातालै पुग्नेछन् ।
आजको परिस्थितिमा खुला सीमाबाट दुवै देश पीडित छन् । नेपालबाट त्यही खुला सिमानाको फाइदा उठाएर पाकिस्तानी र कश्मिरी आतंककारी भारतमा घूसपैठ गरेको गुनासो भारतले गर्दै आएको छ भने नेपालले भारतबाट अत्यधिक आप्रवासी आएर नेपालको भविष्य नै खतरामा परेको आशंका गर्दछ ।
खुला सिमानालाई नियमन गर्ने बित्तिकै भारतलाई अनेक लाभ हुन जान्छ । सर्वप्रथम, विदेशी आतंककारी र शंकास्पद मानिसको आवतजावतमा नियन्त्रण हुन्छ । दोस्रो फाइदा, नेपालको बाटो भएर भारतमा जाने नक्कली भारतीय नोटको आपूर्ति रोकिन्छ । तेस्रो, भारतबाट नेपालमा हुने गरेको भारतीय मोटरको तस्कर रोकिन्छ ।
चौथो फाइदा, मधेसी दलहरूका बहुसंख्यक माग पूरा गर्न सकिन्छ । किनभने खुला सिमानाको नियन्त्रणबाट नेपालमा भारतीयको राम्रो परिचय, सुरक्षा र इज्जत सबै बढ्छ । पाँचौँ लाभ, खुला सिमानाबाट भइरहेका चोरी, डकैती र तस्कर रोक्न सकिन्छ । छैटौँ फाइदा, दुवै देशका मानिस एकअर्काको मुलुकमा यथावत् आवतजावत गर्न पाउँछन् । त्यसको लागि एउटा परिचयपत्रको मात्र आवश्यकता पर्छ । त्यो कुनै ठूलो अवरोध होइन ।
सातौँ फाइदा, भारतको सुरक्षाको सम्बोधन हुन जान्छ । अर्कोतिर नेपालको नागरिकताको वितरण सहज र सुलभ हुन जान्छ । आठौँ फाइदा, नेपालको सार्वभौमिकता र प्रादेशिक अखण्डता राम्ररी कायम हुन जान्छ । नवौँ लाभ, नेपालबाट हुने गरेको मानव तस्कर रोकिन्छ । नेपाली चेलीलाई भारत या अन्य देशमा तस्कर गरिने बाटो यही खुला सिमाना भएको छ ।
यो एउटा यस्तो मुद्दा हो, जसमा दुवै मुलुक सन्तुष्ट छैनन् । दुवैलाई यो घाँडो भएको छ । खालि बिरालोको घाँटीमा कसले घन्टी झुन्ड्याउने भन्ने प्रश्न मात्र हो । यसलाइ सुल्झाउन जो अगाडि सर्दा पनि हुने खालको मुद्दा हो । यस विषयमा नयाँ अध्ययन-अनुसन्धान गर्नुपर्ने आवश्यक पनि छैन । नेपालमा सीमासम्बन्धी विशेषज्ञ मानिएका बुद्धिनारायण श्रेष्ठ हुन् । यसको बारेमा सबै वृत्तान्त उनीबाट बुझ्न सकिन्छ । नेपाल सरकारलाई यसबारेमा सहयोग गर्न उनी तयार नै देखिन्छन् ।
त्यसकारण प्रधानमन्त्री दाहालले आँट गरे भने यो समस्याको समाधान सजिलो किसिमले हुने देखिन्छ । यसबाट उनले नेपाली जनताको मन जित्ने, नेपालको दीर्घकालीन सुरक्षा र हित गर्ने, भारतको गुनासोको सम्बोधन गर्ने र भारतलाई कुनै हानि नभई लाभ मात्र हुने कदम हो । यस्तो काम पनि गर्न नखोज्नु अथवा नसक्नु उनको साँच्चैको लाचारी हुनेछ ।
यसको साथमा दाहालले भारतले खोजेको सीमा सन्धिको कुरा उठाए पनि हुन्छ । हुन त नेपाल-भारत सिमानामा धेरै विवाद छन् । कालापानी र सुस्ताजस्तो ठाउँको विवाद तुरुन्त मिल्न नसक्ने भए तिनीहरूलाई पछि टुंग्याउने भनेर अरू मिल्न सक्ने विवाद मिलाउन सकिन्छ । यो मुद्दा सुल्झाउन दाहालले साम, दाम, दण्ड, भेदको नीति अपनाउनु पर्ने हुन्छ । ओलीले गरेको भन्दा ठूलो राष्ट्रहितको काम पनि ठहरिनेछ । जनताको मन जित्ने काममा उनी ओलीभन्दा अगाडि पर्नेछन् ।