२५ भदौ, काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारसँग एमालेका अध्यक्ष केपी शर्मा ओलीले समझदारीको सम्भावना अन्त्य भएको बताएका छन् ।
ओलीले प्रधानमन्त्रीमाथि मूठभेड निम्त्याउन खोजेको आरोप लगाउँदै सत्तारुढ प्रमुख दुई दलका नेतालाई साक्षी राखेर प्रधानमन्त्रीको विहीबारको भाषणपछि समझदारीको सम्भावना सकिएको बताएका हुन् । यद्यपि एमाले अझै पनि सहमतिको पक्षमा रहेको बताए ।
एमाले अध्यक्ष ओलीले माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र कांग्रेस नेतृ सुजाता कोइरालालाई सुनाउँदै उहाँहरु सहमति, संवाद र समझदारीतिर फर्किनुहन्छ कि भन्ने हिजोसम्म पनि सोचेको तर, प्रधानमन्त्रीको वक्तव्य सुनेपछि सहमति होइन, कन्फ्रन्टेशनको राजनीति चाहिरहेको बताए ।
ओलीले संविधान संशोधनका सन्दर्भमा सरकारले आफूसँग कुनै छलफल नगरेको भन्दै जटा फुकालेर नन्दी-भृंगी उफार्दैमा राष्ट्रको हित विरुद्ध संविधान संशोधन नहुने बताए । उनले मुलुकको हित विपरीत जो जोसँग सहमति गरिएको भए पनि त्यो एमालेले नमान्ने बताए ।