प्रचण्डको जिकिर : वर्तमान सरकार अप्राकृतिक, अलोकतान्त्रिक र असंवैधानिक

१ माघ ०८१, काठमाडौं । नेकपा (माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार अप्राकृतिक, अलोकतान्त्रिक र असंवैधानिक भएकाले टिकिराखोस् भन्ने चाहना नरहेको बताएका छन् ।

अध्यक्ष प्रचण्डले वर्तमान सरकार अप्राकृतिक गठबन्धनबाट बनेका र सत्ता साझेदार कांग्रेसभित्रै असन्तुष्टि रहेकाले आफैँ ढल्ने बताएका हुन् ।

‘यो सरकार अप्राकृतिक, अलोकतान्त्रिक र असंवैधानिक भनिसकेपछि त्यो रहिराखोस् भन्ने हाम्रो चाहना हुँदैन,’ प्रचण्डले भने, ‘अहिले जसरी सरकार चलिहरेको छ, त्यसले पनि सरकारको आयु झन् छोट्याइरहेको छ ।’

प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले माओवादी केन्द्र सरकार गिराउने र सत्तामा जाने खेलमा भने नलागेको जिकिर गर्दै पछिल्लो घटनाक्रमलाई गम्भीर रुपले हेरिरहेको बताए ।

माओवादी केन्द्र अहिले जनताको बीचमा संगठन सुदृढ गर्ने अभियानमा रहेको बताउादै उनले भने, ‘स्थानीय तहदेखि नै भेला सम्मेलन भैराख्या छन् । र जनताले त्यसलाई राम्रो पनि मानिरहेका छन् ।’