दक्षिण कोरियाको कार्यवाहक राष्ट्रपति महाअभियोग पारित भएसँगै पदमुक्त

१३ पुस ०८१, काठमाडौं । दक्षिण कोरियाको प्रधानमन्त्री तथा कार्यवाहक राष्ट्रपति हान डक–सू पदमुक्त हुने भएका छन् ।

दक्षिण कोरियाको संसदमा शुक्रबार सूविरुद्ध विपक्षी दलले संसदमा दर्ता गरेको महाअभियोग प्रस्ताव पारित भएसँगै उनी पदमुक्त हुने भएका हुन् ।

दक्षिण कोरियाले दुई सातामा राजनीतिक उथल–पुथलका कारण तीन राष्ट्रपति पाएको छ ।

गत मंसिर २९ गते राष्ट्रपति यून सुक योलविरुद्ध महाअभियोग प्रस्ताव पारित भएसँगै डक–सू कार्यवाहक राष्ट्रपति बनेका थिए ।

महाअभियोगको पक्षमा १९२ मत परेको थियो जुन आवश्यकभन्दा ५१ मत बढी थियो ।

सत्तापक्षले मतदान बहिस्कार गरेसँगै कार्यवाहक राष्ट्रपतिविरुद्धको महाअभियोग प्रस्तावको विपक्षमा कुनै मत परेन ।

अब अर्थमन्त्री चोई सांग–मोकले कार्यवाहक राष्ट्रपतिको रूपमा पदभार सम्हाल्नेछन् ।

चोई सांगले ३ डिसेम्बरमा मार्शल ल लागु गर्ने तत्कालीन राष्ट्रपतिको निर्णयको खुलेर विरोध गरेका थिए । उनले यसलाई देशको अर्थतन्त्रका लागि विनाशकारी बताएका थिए ।

यसअघि ३ डिसेम्बरमा राष्ट्रपति यून सुक योलले देशमा संकटकाल (मार्शल ल) लगाएका थिए । तर विपक्षी दलको प्रयासका कारण यो केवल ६ घण्टाका लागि मात्र लागू भयो । विपक्षी दलले संसदमा मतदान गरेर मार्शल लको प्रस्तावलाई अवैध घोषित गरेको थियो ।

त्यसपछि दक्षिण कोरियाका राष्ट्रपति यून सुक योलविरुद्ध महाअभियोग चलाएर हटाइएको थियो ।

१४ डिसेम्बरमा हान डक–सूलाई कार्यवाहक राष्ट्रपति बनाइएको थियो, तर उनी यो पदमा केवल १३ दिन मात्र रहे ।

शुक्रबार संसदमा मतदान हुँदा ठूलो हंगामा समेत भएको थियो । सभामुखले कार्यवाहक राष्ट्रपतिलाई हटाउन ५० प्रतिशत सांसदको मत आवश्यक पर्ने बताएका थिए ।

यसरी हेर्दा १५१ सांसदको मतले कार्यवाहक राष्ट्रपतिलाई हटाउन सकिने अवस्था बन्यो भने संसदमा विपक्षी दलसँग १९२ सिट रहेको छ । त्यसैले कार्यवाहक राष्ट्रपतिलाई हटाउन सजिलो भयो ।

महाअभियोग पारित भएपछि कार्यवाहक राष्ट्रपति हानले संसदको निर्णयको सम्मान गर्ने बताएका छन ।