फरार प्रहरी निरीक्षक शाहीले कारबाही सिफारिस समितिविरुद्ध दिइन् उजुरी

३० कार्तिक ०८१, काठमाडौं । जिल्ला प्रहरी परिसर, ललितपुरले प्रतिवादी बनाएपछि फरार रहेकी प्रहरी निरीक्षक बिनुकुमारी शाहीको तर्फबाट उनलाई कारबाही सिफारिस गर्ने समितिविरुद्ध नै उजुरी परेको छ ।

हनी ट्र्यापमा पारेर व्यवसायीसँग असुली गर्ने गिरोहलाई प्रहरीले सहयोग गरेको भनिएको घटनामा फरार रहेकी प्रहरी निरीक्षक शाहीको तर्फबाट गृह मन्त्रालयमा उजुरी परेको हो ।

उच्च स्रोतकाअनुसार उजुरीमा फरार इन्स्पेक्टर शाहीले छानबिन समितिका संयोजक प्रहरी नायब उपरीक्षक (डीएसपी) नरहरि अधिकारीले आफूविरुद्ध प्रतिशोध साँध्ने हिसाबले कारबाही गर्न सिफारिस गरेको दाबी गरेकी छन् ।

शाहीको निवेदन आएलगत्तै सत्य, तथ्य अनुसन्धान गर्न भन्दै उजुरीको प्रतिलिपिसहित प्रहरी प्रधान कार्यालय, नक्साललाई पत्राचार गरिएको स्रोतले बताएको छ ।

सीआईबीका एक अनुसन्धान अधिकृतका अनुसार ब्यूरोले गोदावरीमा भएको भनिएको घटना र हनी ट्र्यापको मामलालाई बेग्लाबेग्लै राखेर हेरिरहेको छ ।