गणतन्त्र दिवसमा प्रधानमन्त्रीको सन्देश : व्यवस्था र प्रणालीप्रति भ्रम छर्ने प्रयासहरु सफल हुने छैनन्

१५ जेठ ०८०, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र १५ वर्ष पूरा भएको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १५ वर्ष पूरा गरेको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई बधाईसहित शुभकामना व्यक्त गरेका हुन् ।

“गणतन्त्र दिवस २०८० को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमाबुवा, दिदीबहिनी, दाजुभाइमा हार्दिक बधाईसहित शुभकामना व्यक्त गर्दछु,” शुभकामना सन्देशमा भनिएको छ, “जनताको बीरतापूर्ण सङ्घर्षबाट हामीले समावेशी संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको पन्ध्र वर्ष पूरा भएको छ । … आजको दिवसले शहीदहरूले देखाएको सत्य र न्यायको मार्गमा हिँड्न तथा उहाँहरूले देखेको सुन्दर, समृद्ध र समतामूलक नेपाल निर्माणको सपनालाई साकार पार्न हामी सबैलाई प्रेरणा प्रदान गरोस भन्ने कामनाका साथ पुनः गणतन्त्र दिवसको हार्दिक शुभकामना व्यक्त गर्दछु ।”

यस्तै सन्देशमा संघीय लोकतान्त्रिक गणतन्त्रप्रति नै वितृष्णा जगाउने र बलिदानीपूर्ण संघर्षबाट प्राप्त अधिकारलाई उल्ट्याउने षडयन्त्र भइरहेको भन्दै संविधान कार्यान्वयन र शासन सञ्चालनमा देखिने कतिपय कमजोरीलाई आधार बनाएर व्यवस्था र प्रणालीप्रति नै भ्रम छर्ने, वितृष्णा छर्ने यी प्रयासहरु कदापी सफल नहुने पनि उल्लेख गरिएको छ ।

सुशासन र सामाजिक न्यायसहितको समृद्ध नेपालका लागि राष्ट्रिय एकताको खाँचो रहेको औल्याउँदै यस तथ्यलाई गम्भीरतापूर्वक लिन अपील गर्दै संविधानले निर्दिष्ट गरेअनुरुप समाजवादउन्मुख आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्दै सुशासन सहितको राज्य सञ्चालनका पक्षमा दृढतापूर्वक उभिनु जरुरी रहेको पनि शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।