१५ मंसिर ०७९, काठमाडौं । यही मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन रद्द गरी पुनः मतदान गर्ने निर्णय भएको दोलखाको १० वटा मतदान केन्द्रमा आज पुनः मतदान हुँदैछ ।
निर्वाचन आयोगको मंसिर ११ गते बसेको बैठकले दोलखाको वैत्यश्वर गाउँपालिका–२ को जनज्योति माध्यमिक विद्यालय पुतली काठका मतदान केन्द्र क र ख, वैत्यश्वर वडा नम्बर ३ को कालीढुङ्गा मावि मतदान केन्द्रमा क, ख, ग मतदान केन्द्र, वडा नम्बर ६ को वैत्यश्वर माध्यमिक विद्यालय मतदान केन्द्र क, ख, ग तथा तामाकोशी गाउँपालिका वडा नम्बर– ३ हेल्थपोष्ट भवन जफे मतदान केन्द्रका क र ख गरी १० वटा मतदान केन्द्रमा मंसिर ४ गतेको मतदान निष्पक्ष नभएको भन्दै निर्वाचनलाई रद्द गरी मंसिर १५ भित्र पुनः मतदान गर्ने निर्णय गरेको थियो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाले आज बिहान ७ बजेदेखि मतदान सुरुभएको मतदान साँझ ५ बजेसम्म चल्ने जनाएको छ ।