रत्न ढकालः काभ्रेबाट राष्ट्रिय राजनीतिमा उदाएका युवा नेता

काभ्रे/प्रेसे । विद्यार्थी आन्दोलनको एक चिर परिचित पात्र हुन् बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री माननीय रत्न प्रसाद  ढकाल । नेपालमा बुर्जुवा शैक्षिक प्रणालीको विकास हुँदै गएपछि त्यसविरुद्ध अघि बढेको विद्यार्थी आन्दोलनलाई नयाँ उचाईमा पुर्‍याउन रत्न ढकाल एक अविचलित योद्धाको रूपमा परिचित छन् ।

नेपालको शैक्षिक समस्या वर्गीय समस्याभित्रको एक अंश अझ भनौँ अभिन्न अंश हो भन्ने कुरा राम्रोसँग बुझेका ढकाल वर्ग मुक्ति आन्दोलनको बाटोमा निरन्तर लम्किरहे । तत्कालीन नेकपा (माओवादी) ले सञ्चालन गरेको जनयुद्धमा सामेल भए । माओवादी जनयुद्धमा होस् या शान्ति प्रक्रियामा मुलुक अघि बढिरहेको अवस्थामा होस् या राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सवालमा सधैँ चिन्ता गर्ने व्यक्ति हुन् ढकाल । भारतीय शासकहरूले नेपाल भूमिमा परेड खेल्दा सीमामा गएर नेपाली बहादुरी देखाउन लिपुलेकमा नेपालको राष्ट्रिय झण्डा फहराउने अभियानका नेता ढकाल राष्ट्रिय स्वाधिनताको पक्षमा सधैँ अग्रपङ्क्तिमा देखिन्छन् ।

पारिवारिक अवस्था

ढकालको जन्म २०३७ साल माघ ६ गते साविक चौंरी गाविस हाल चौंरी देउराली गाउँपालिका वडा नं. ५ मा बुबा शिवप्रसाद ढकाल र आमा रुकुमाया ढकालको कोखबाट भएको थियो । निम्न मध्यम वर्गमा जन्मेका ढकालका ५ बहिनी र २ भाईहरू छन् । मेनुका घिमिरे उनकी श्रीमती हुन् भने उनीहरूका दुई छोरी छन् ।

विद्यार्थी आन्दोलनमा १८ वर्ष

ग्रामिण क्षेत्रमा जन्मेका एक किसान परिवारको सदस्य ढकाल सानै उमेरदेखि विद्यार्थी संगठनमा संगठित भएका थिए । आफ्नो गाउँका माओवादी नेताहरू यान प्रसाद गौतम, तीर्थ गौतम, नविन गौतम, दिनानाथ गौतमलगायतबाट राजनीतिक प्रभावमा परेका ढकालले समाजमा रहेको हरेक विभेद, अन्याय र अत्याचार देखेका थिए । त्यही अनुसार उनलाई संगठित हुने रहर जागिरहेको थियो । क्रमश उनमा विद्रोही स्वभावको विकास भयो ।

त्यतिखेर नै ढकाल २०५० सालमा तत्कालीन नेकपा (एकता केन्द्र) को भातृसंगठन अनेरास्ववियू (क्रान्तिकारी) मा संगठित भए । त्यही क्रममा २०५१ देखि २०५२ सम्म आफ्नै गाउँमा रहेको स्थानीय श्री जागृति निमाविको इकाई समिति उपाध्यक्षमा निर्वाचित भएका ढकाल २०५३ देखि २०५४ सम्म जागृति मावि इकाई समिति अध्यक्ष भएका थिए । त्यतिखेर जनयुद्ध आधार इलाका निर्माणको दिशामा अघि बढिसकेको थियो । प्रहरी दमन र ज्यादतिले ढकाललाई अझ संगठित हुने र विद्रोही हुने वातावरणको सिर्जना गर्दै थियो ।

स्थानीय जागृति माविबाट एसएलसी पास भएपछि उनी कलेज पढ्न काठमाडौं छिरेका थिए । शहर पसेर पनि उनी चुप भने बसेनन् । २०५६ मा फेरि काठमाडौं क्याम्पस ईकाई समितिको अध्यक्ष बने । त्यहीबेला देखि नै उनी अखिल (क्रान्तिकारी)को पूर्णकालीन सदस्यको रूपमा विद्यार्थी आन्दोलनमा लागे ।

निरन्तर विद्यार्थी आन्दोलनमा लागेको उनी २०५७ सालमा अखिल (क्रान्तिकारी) को जिल्ला सदस्यमा निर्वाचित भए । २०५८ देखि २०६० सम्म अखिल क्रान्तिकारी जिल्ला सचिवालय सदस्य बनेको ढकाल २०६१ मा अखिल क्रान्तिकारी भक्तपुर जिल्ला संयोजक बनेका थिए ।

माओवादी जनयुद्ध शान्ति प्रक्रियामा फड्को मारेपछि २०६३ देखि ०६५ सम्म ढकालले अखिल (क्रान्तिकारी) को केन्द्रीय कार्यालय सचिव भएर काम गरे । त्यसैगरी २०६५ देखि २०६९ सम्म केन्द्रीय समितिको सचिवालय सदस्य र २०७० देखि २०७२ सम्म केन्द्रीय समितिको महासचिवको भूमिकामा रहे । माओवादीमा आएको फुटसँगै विभाजित बनेको वैद्य नेतृत्वको माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २०७२ देखि २०७३ सम्म केन्द्रीय अध्यक्ष बने ।

बेपत्ता, हिरासत र जेलमा झुकेनन् ढकाल

वुर्जुवा शिक्षाको अन्त्य र जनवादी शिक्षाको पक्षमा निरन्तर विद्यार्थी आन्दोलनमा रहेका ढकाल तत्कालीन प्रतिक्रियावादी राज्यसत्तालाई सह्यको विषय बनेको थिएन । माओवादी आन्दोलनकै एक अभिन्न अंगको रूपमा रहेको विद्यार्थी आन्दोलनको नेतृत्व गर्दै अघि बढ्ने क्रममा उनी पटक पटक बेपत्ता, क्रुरतापूर्ण हिरासत र जेलसमेत बस्न बाध्य भएका थिए ।

उनलाई २०५८ मंसिरमा अखिल (क्रान्तिकारी) को केन्द्रीय कार्यालय भुरुङखेलबाट तत्कालीन शाहीसेनाले गिरफ्तार गर्‍यो । उनलाई अमानवीय र क्रुरतापूर्वक यातना दिई ११ दिनसम्म २ नम्बर गण महाराजगञ्जमा राखियो । विद्यार्थीहरूको प्रतिरोधात्मक आन्दोलनका कारण उनी सैनिक हिरासतबाट मुक्त भएका थिए ।

तत्कालीन राज्यसत्ताले फेरि उनलाई २०५९ साल साउन ६ गते काठमाडौंको असनबाट गिरफ्तार गरी ९४ दिनसम्म चरम यातनाका साथ सैनिक हिरासतमा राख्यो । सैनिक मुख्यालयमा उनको गिरफ्तारीको कुनै रेकर्ड नै थिएन । उनलाई बेपत्ता पारिएको थियो । त्यसपछि २०५९ साल कार्तिक २७ गते हनुमान ढोकाबाट केन्द्रीय कारागार चलान गरियो ।

२०५९ साल चैतमा फेरि उनी केन्द्रीय कारागारबाट रिहा भए । रिहा भइसके पनि विद्यार्थी आन्दोलनमा निरन्तर लागेका ढकाल तेस्रो पटक फेरि २०६१ असोज १६ गते नयाँ बानेश्वरबाट शाहीसेनाको गिरफ्तारीमा परे । त्यतिखेर उनलाई ६२ दिनसम्म चरम यातनासहित बेपत्ता पारियो । त्यसपछि २०६२ मंसिरमा १ नं. गण नक्सालबाट नख्खु जेल चलान गरियो । माओवादी जनयुद्ध र दोस्रो जनआन्दोलनको बलमा राजतन्त्रको अन्त्य भएपछि २०६३ जेठ ३० गते ढकाल नख्खु जेलबाट रिहा भए ।

ढकालः माओवादी सदस्य

विद्यार्थी आन्दोलनको एक होनहार योद्धको रूपमा आफूलाई स्थापित गराइसकेका ढकालले पार्टी सदस्यता भने २०५५ सालमा लिएका थिए । उनी २०५७ देखि २०५९ सम्म एरिया समिति सदस्य भएर पार्टीको काम गरेका थिए । त्यसै गरी २०५९ देखि २०६५ सम्म जिल्ला सदस्य/सचिवालय सदस्य भएर काम गरेका थिए । २०६५ देखि २०७१ सम्म राज्य समिति सदस्य बनेका थिए ।

माओवादी आन्दोलनमा फूट आएपछि ढकाल २०७२ मा नेकपा (क्रान्तिकारी माओवादी) को केन्द्रीय समिति सदस्य बने । माओवादी घटकहरूको एकतापछि उनी नेकपा (माओवादी केन्द्र) को पोलिटब्यूरो सदस्यमा चयन भएका थिए ।

२०७४ सालमा सम्पन्न आम निर्वाचनमा एमाले र माओवादी केन्द्रको गठबन्धन हुँदा ढकाल साझा उम्मेदवारको रूपमा चुनावी मैदानमा खडा भएका थिए । ढकाल नेपाली कांग्रेसका उम्मेदवार चन्द्रबहादुर लामालाई पराजित गर्दै काभ्रेबाट बागमती प्रदेशसभा सदस्यमा विजयी बने ।

एमाले र माओवादी केन्द्रको एकतापछि ढकाल नेकपाको बागमती प्रदेश सचिवाल सदस्यमा चयन भएका थिए । पार्टी विभाजनपछि उनी बागमती प्रदेश सरकारको युवा तथा खेलकुदमन्त्री बनेका थिए । हाल पनि उनी मन्त्रीका रूपमा जनताको पक्षमा काम गरिरहेका छन् ।

पार्टीको एकताको आठौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका उनी काभ्रेको प्रभावशाली युवा नेताको रुपमा परिचित छन् । माओवादी आन्दोलनको एक योद्धा ढकाल जिल्लाको हरेक समस्यासँग परिचित छन् ।

काभ्रेको विकट गाउँबाट काठमाडौंसम्म राष्ट्रिय राजनीतिको राजमार्गको यात्रा थाल्ने काभ्रेली युवा, कलिलो उमेर मै भीषण वर्गसंघर्षको भट्टीबाट खहरीएको योद्धा, सरल र बौद्धिक व्यक्तित्वको रूपमा काभ्रेमा मात्र होइन देशैभरि परिचित छन् ढकाल ।

आफ्नो क्षेत्रका साथमा समृद्धशाली मुलुक निर्माणमा युवाहरूको ऐतिहासिक भूमिका हुन्छ भन्ने तथ्य प्रमाणित गर्न सक्ने क्षमता बोकेका ढकाल राष्ट्रिय राजनीतिमा समेत नेतृत्व विकास गर्न सक्ने व्यक्तित्व हुन् ।

फेरि उम्मेवार ढकाल

आगामी मंसिर ४ गते हुन गइरहेको आम निर्वाचनको लागि ढकाल प्रतिनिधि सभा काभ्रे क्षेत्र नं. १ (क) को प्रत्यक्ष तर्फको उम्मेदवारको रूपमा माओवादी केन्द्रले उभ्याएको छ । गठबन्धनको साझा उम्मेदवारको रूपमा खडा भएका ढकालले आफ्नो कार्यकालमा आफ्नो निर्वाचन क्षेत्रमा करिब ४ अर्ब बजेटको व्यवस्था गरेका छन् । उनको पहलमा टोल–टोलमा सडक सञ्जाल विस्तार, स्तारोन्नति, कालपत्रे समेत भएको छ । प्रत्येक वडामा एक–एक वटा खेल मैदान निर्माण कार्य सम्पन्न हुने चरणमा पुगेको छ ।

विपक्षी दलमा आस्था राख्ने जनसमुदाय, युवाहरू, बुद्धिजीविहरूले समेत मन पराउने ढकाल साच्चिकै काभ्रेमा सबैको साझा उम्मेदवारको रूपमा खडा भएका छन् ।