माओवादी केन्द्रको बन्दसत्र : प्रचण्डद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन पारित

१६ पुस ०७८, काठमाडौं । नेकपा (माओवादी केन्द्र)को बन्दसत्रले पार्टी अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको वैचारिक तथा राजनीतिक प्रतिवेदन पारित गरेको छ ।

अध्यक्ष प्रचण्डले समूहगत छलफलका क्रममा प्रतिवेदनमाथि उठेका प्रश्नहरुको जवाफ दिएपछि ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको वैचारिक तथा राजनीतिक दस्तावेज बन्दसत्रले पारित  गरेको हो ।

माओवादी केन्द्रको आठौं महाधिवेशनमा नेता राम कार्कीले प्रचण्डको प्रस्तावमाथि पुरक मत र लेखनाथ न्यौपानेले भिन्न मत राखेको बन्द सत्रमा जानकारी गराउँदै महाधिवेशनमा अध्यक्ष प्रचण्डले प्रतिवेदनमा सबैको भावना समेटेर अघि बढ्ने बताएको एक प्रतिनिधिले जानकारी दिए ।

बन्द सत्र भोलि विहान ११ बजेसम्मका लागि स्थगित भएको छ । शनिबार विधान मस्यौदामाथि समूहगत छलफलबाट आएका सुझाव र जिज्ञासामाथि स्थायी कमिटी सदस्य क. देवप्रसाद गुरुङले जवाफ दिने  नेकपा (माओवादी केन्द्र) आठौं राष्ट्रिय महाधिवेशन प्रचार तथा प्रकाशन उपसमितिले बताएको छ ।