माओवादी केन्द्रमा सबै तहका नेतृत्व निर्वाचनबाट चयन हुने

६ असोज ०७८, काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले सबै तहका पार्टी नेतृत्व निर्वाचनबाट चयन गर्ने भएको छ ।

माओवादी केन्द्रले कार्यविधि नै बनाएर सबै तहका पार्टी नेतृत्व निर्वाचनबाट चयन गर्ने भएको हाे ।

सोमबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय निर्वाचन समितिको भर्चुअल अभिमूखीकरण बैठकलाई सम्बाेधन गर्दै सबै तहको नेतृत्व निर्वाचन प्रक्रियाबाट चयन हुने भन्दै त्यसैअनुसार तयारीमा जुट्न निर्देशन दिएका छन् ।

विधि र पद्धतिसम्मत पार्टी सञ्चालन गरिने बताउँदै अध्यक्ष प्रचण्डले भने, ‘विधिसम्मत निर्वाचन सम्पन्न भएर आयोगले प्रमाणपत्र दिएर प्रमाणित नभएसम्म त्यसले आधिकारिकता पाउँने छैन ।’

भर्चुअल बैठकमा सहभागीहरूलाई केन्द्रीय निर्वाचन आयोग अध्यक्ष विष्णुपुकार श्रेष्ठले निर्वाचन नियमावली, कार्यविधि र आचारसंहिताबारे प्रशिक्षण दिएका थिए ।

माओवादी केन्द्रका नेता वर्षमान पुनले उक्त बैठकमा १ सय ८० केन्द्रीय सदस्य, ७ भौगोलिक र ३ गैरभौगोलिक गरी १० प्रदेशका प्रदेश निर्वाचन समितिका पाँच/पाँच जना सहभागी रहेकाे जानकारी दिए ।

माओवादी केन्द्रले आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ । त्यसअघि नै मातहतका सबै समितिहरुका सम्मेलन सम्पन्न भई नेतृत्व चयन हुनेछन् ।