२३ भदौ ०७८, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सांसद विरोध खतिवडाले एमाले अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिको चर्को आलोचना गरेका छन् ।
बुधवार बसेको माधवकुमार नेपाल नेतृत्वको समाजवादी पार्टीको संसदीय दलको बैठकपछि सांसद खतिवडाले एमाले अध्यक्ष ओलीको आलोचना गरेका हुन् ।
एमाले अध्यक्ष ओलीले सत्ता गुमाएपछि छटपटीको अभिव्यक्ति दिँदै संसद बैठकमा १४ सांसद उपस्थित भए संसद चल्न नदिने बताएको भन्दै खतिवडाले भने, “एउटा दलको नेतालाई उपस्थित भए संसद चल्न नदिने भन्ने उनी को हुन् ?”
खतिवडा नेकपा एमाले विभाजनपछि बनेको दल नेकपा (एकीकृत समाजवादी)मा आवद्ध छन् ।
यसअघि एमाले अध्यक्ष ओलीले एमालेले कारबाही गरेका १४ जना सांसद संसदमा उपस्थित हुँदासम्म संसद बैठक चल्न नदिने बताएका थिए ।
आजको संसद बैठकमा एमालेका सांसदहरुले सभामुख अग्नी सापकोटामाथि प्रश्न उठाउँदै संसदमा नाराबाजी गरेर पहिलो र दोस्रो बैठक अवरुद्ध गरेका थिए ।
तेस्रो बैठक सुरु हुनासाथ गृहमन्त्री बालकृष्ण खाँडलाई सभामुख सापकोटाले राजनीतिक दलसम्बन्धी अध्यादेश पेश गर्न समय दिएसँगै एमाले सांसदहरुले गृहमन्त्रीलाई रोक्ने प्रयास गरेका थिए ।