२४ साउन ०७८, काठमाडौं । विपद् व्यवस्थापन सर्वपक्षीय समितिले सभामुख अग्निप्रसाद सापकोटालाई प्राकृतिक विपत्तिबाट पीडित एवं विस्थापितलाई सहजीकरण गर्न ध्यानाकर्षण गराएको छ ।
यस वर्षको प्राकृतिक विपत्तिबाट विस्थापित सिन्धुपाल्चोकमा पीडितहरुलाई सहजीकरण गर्न गठित विपद् व्यवस्थापन सर्वपक्षीय समितिले शनिबार सभामुख सापकोटाको निवास पुगेर समस्या समाधानका लागि ध्यानाकर्षण गराएको हो ।
समितिले सभामुख सापकोटालाई मेलम्ची र इन्द्रावती नदीले पुल बगाएको स्थानमा तत्काल बेलीब्रिज स्थापना गरी सडक सम्पर्क जोड्न, अवरुद्ध विद्युत् र सञ्चार सम्पर्क स्थापित गर्न विशेष पहल गरिदिन आग्रहसहित ध्यानाकर्षण पत्र बुझाएका छन् ।
ध्यानाकर्षणपत्र बुझेपछि सभामुख सापकोटाले मेलम्ची र हेलम्बु क्षेत्रका बाढी पहिरो प्रभावितसँग सम्बन्धित विषय आफ्नो प्राथमिकतामा रहेको बताए । उनले विपद् व्यवस्थापन क्षेत्रका विज्ञ, सम्बन्धित सरकारी संयन्त्रका अधिकारीसँग प्रकोप व्यवस्थापनका विषयमा निरन्तर छलफल गरिरहेको पनि जानकारी दिए ।