साम्राज्यवादले एमसीसी पास गर्न नपाएपछि भाँडभैलो गरायो – अन्टुफ उपाध्यक्ष कार्की

क्रान्तिकारी दावी गर्ने केही कम्युनिष्ट नेता कुहिएको फर्सी जस्तै :

काठमाडौं । अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय उपाध्यक्ष जय कार्कीले आफूलाई क्रान्तिकारी कम्युनिष्ट दावी गर्ने केही नेता कुहिएको फर्सी जस्तै गन्हाउन थालेको बताएका छन् ।

महासंघले बिहीबार काठमाडौंमा आयोजना गरेको एक कार्यशालाका प्रमुख अतिथि उपाध्यक्ष कार्कीले प्रशिक्षणात्मक मन्तव्य राख्दै वर्ग उत्थान भई विचारबाट स्खलित भएका कम्युनिष्ट भन्न रुचाउनेहरु प्रतिगमनको मतियार भई फर्सीझैं गन्हाउने स्थितिमा पुगेको बताएका हुन् ।

केही समयअघि सर्वोच्चको फैसलाले नेकपा माओवादी केन्द्र र एमाले अलगअलग पार्टी भएपछि नेकपा एमालेको ओली समूहमा लागेका नेताहरुलाई इंकित गर्दै उपाध्यक्ष कार्कीले भने, “एमसीसी पास गर्न नपाएपछि साम्राज्यवादले नेपालमा अहिलेको भाँडभैलो गराएको हो । यो आन्तरिक गडबडी हुँदै होइन् । क्रान्तिकारी भन्नेहरु साम्राज्यवादको मतियार बनेपछि र उनीहरुको वर्ग उत्थान साथै बैचारिक हिसाबले स्खलित भएपछि नजिक बस्न नसक्ने गरी कुहिएको फर्सी जस्तै गन्हाएका हुन् ।”

उपाध्यक्ष कार्कीले माओवादी केन्द्र र एमाले पार्टी एकता भएर बनेको ‘नेपाल कम्युनिष्ट पार्टी’ विभाजनको मूलकारण अमेरिकी सहयोग परियोजना एमसीसी पास गर्नुपर्छ भन्नेहरु र यसलाई पास गर्नु हुँदैन, यो राष्ट्रघाती छ भन्नेहरु बीचमा साम्राज्यवाद र विस्तारवादले खेलेपछिको परिणाम भएको बताए ।

यतिबेला साम्राज्यवादी शक्तिहरु विश्व कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाउन लागेकाले अबको कम्युनिष्ट आन्दोलन, पार्टी र ट्रेड युनियनभित्र ‘महिला नेतृत्वको विकास’ हुनपर्नेमा जोड दिँदै उनले कार्यशालाका सहभागीहरुलाई प्रतिगामी तत्वसँग लड्ने सक्षम नेतृत्वको रुपमा महिलाहरुले आफैलाई विकास गर्नुपर्ने बताए ।

अन्टुफसम्बद्ध विभिन्न पेशागत संगठनको केन्द्रीय महिला नेतृत्वहरुको सहभागिता रहेको कार्यशालामा महासंघका उपाध्यक्ष उषा देवकोटाले महिला नेतृत्व र विकास विषयमा र अर्का उपाध्यक्ष एसबी थापा मगरले आइएलओ महासन्धि ८७ र ९८ को विषयमा प्रशिक्षण दिएका थिए ।

महासंघका उपमहासचिव एवम् अन्टुफ महिला विभाग प्रमुख विष्णु कुमारी थापाको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन तथा सहजीकरण अन्टुफ कार्यवहाक महासचिव शालिक राम काफ्लेले गरेका थिए । साथै, कार्यशालामा अन्टुफ उपमहासचिव तथा बागमती प्रदेश इन्चार्ज प्रकाश श्रेष्ठ, बागमती प्रदेश सभा सदस्य एवम् अन्टुफ सचिव लालकुमारी पुन, अन्टुफ सचिव समेत रहेका बागमती प्रदेश सहइन्चार्ज साेम तामाङकाे आतिथ्यता रहेको थियोे ।