२५ असार ०७८, काठमाडौं । राष्ट्रिय सभाका महिला सांसदहरुले संसदमा आफूहरुले उठाएका संवेदनशील विषय पनि सञ्चारमाध्यमको प्राथमिकता नबनेको बताएका छन् ।
शुक्रबार संसद सचिवालयले आयोजना गरेको अन्तरक्रियामा बोल्दै सांसदहरुले सञ्चारमाध्यमको प्राथमिकतामा राजनीतिक विषय पर्ने गरेको भन्दै यस्तो बताएका हुन् ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै राष्ट्रिय सभाका सदस्य डा. विमला राई पौड्यालले कानुन निर्माणमा महिला सांसदको सक्रिय सहभागिता रहेको भए पनि सञ्चारमाध्यमले प्राथमिकतामा नदिएको बताइन् ।
कानून निर्माणको क्रममा परिमार्जन भएका ३३ वटा विधेयकमा संशोधन दर्ता गराउने महिला सांसदको सहभागिता ३२.७५ प्रतिशत रहेको जानकारी दिँदै पौड्यालले भनिन्, “कानून निर्माणमा पनि महिला र पुरुष सांसदका प्राथमिकता फरक देखिएको छ । विधेयक संशोधनमा महिला सांसदको प्राथमिकतामा लैंगिक समानता, जेष्ठ नागरिक, जातीय विभेदजस्ता सामाजिक मुद्दा पर्ने गरेको र पुरुष सांसदको प्राथमिकतामा मिडिया काउन्सिल, सूचना प्रविधि, प्रहरी समायोजनजस्ता राजनीतिक र विवादित विषय परेको देखिन्छ ।”
उनले राष्ट्रिय सभाको शून्य समयमा (०७५/७६ र ०७६/७७ को अवधिमा) बोल्ने ४४ सांसदमध्ये २१ जना महिला रहेको, जुन राष्ट्रिय सभामा उपस्थित महिला सांसदको तथ्यांकका आधारमा ९५ प्रतिशत भएको र विशेष समयमा बोल्ने ५२ मध्ये १९ महिला (८६ प्रतिशत) रहेकाले महिला सांसदको सक्रियता र प्रभावकारी भूमिकामा प्रश्न गर्ने ठाउँ नरहेको बताइन् ।