सामाजिक सुरक्षा र श्रम ऐन कार्यान्वयनमा चुनौती
२ असार ०७८, काठमाडौं । नेपाली ट्रेड युनियनहरुको छाता संगठन “संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी)”का अध्यक्ष जगत सिम्खडाले सामाजिक सुरक्षा र श्रम ऐन कार्यान्वयनमा नेपाली श्रमिकहरुले चुनौतीहरुको सामना गरिरहेको बताएका छन् ।
अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय अध्यक्ष समेत रहेका जेटियुसीसी अध्यक्ष सिम्खडाले बुधबार अन्तर्राष्ट्रिय श्रम सम्मेलनको १०९औं सत्रलाई भर्चुअल सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
“कोभिड महामारीको वहानामा र श्रम ऐनको धारा १४५को दुरुपयोग गर्दै रोजगारदाताहरु श्रमिक निष्काशन गर्ने र कम सुविधा दिएर इगत ‘आउट सोर्सिङ’को माध्यमबाट श्रमिक नियुक्ति गर्ने क्रम बढेको छ । श्रम ऐनको प्रभावकारी कार्यन्वयन गर्न र श्रमिकको अधिकार कटौती गर्ने कानून संशोधन गर्न हामी संघर्षरत छौं,” अध्यक्ष सिम्खडाले सम्बोधनका क्रममा भने, “सामाजिक सुरक्षा र श्रम ऐन कार्यान्वयन गर्न हामीले ठूलो चुनौतीहरुको सामना गरिरहेका छौं ।”
उनले श्रम क्षेत्रमा देखिएका समस्याहरुलाई प्रभावकारी सामाजिक संवादको माध्यमबाट सम्बोधन गर्न, मर्यादित कामको सुनिश्चितता साथै श्रमिकका मुद्दा र अधिकारका लागि संघर्ष गर्न यस सम्मेलनले विश्वभरबाट अझ बढी ऐक्यवद्धता र सहयोग हुने विश्वास व्यक्त समेत गरेका छन् ।
सम्बोधनको पूर्णपाठ :
आदरणीय सभा अध्यक्ष,
प्रतिष्ठित प्रतिनिधिहरु तथा विश्वभरबाट उपस्थित दाजुभाई दिदी बहिनीहरु !
अन्तर्राष्ट्रिय श्रम सम्मेलनको यस १०९औं सत्रमा जेटीयुसीसी नेपालको अध्यक्षको हैसियतमा सम्बोधन गर्न पाउदा मलाई निकै खूसी लागेको छ । यस अवसरमा जेटीयुसीसीको तर्फबाट, मेरो आफ्नो महासंघ (अखिल नेपाल ट्रेड युनियन महासंघ ‘अन्टुफ’) र सम्पूर्ण नेपाली श्रमिकहरुको तर्फबाट यो ‘भर्चुअल’ सम्मेलन आयोजना गर्नु भएकोमा अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)लाई धन्यवाद दिन चाहन्छु ।
छरिएर रहेका नेपालका ट्रेड युनियनहरुलाई एकीकृत गर्दै २००७ मा जेटीयुसीसी गठन गरेको कुरा तपाईहरु सामु राख्न पाउँदा मलाई खुसी लागेको छ । जेटीयुसीसीमार्फत श्रमिकहरुका आवाज मजबुद बनाउन सफल भएका छौं ।
विविधतामा एकता भन्ने नाराको प्रवर्दनको सिदान्तबाट निर्देशित जेटीयुसीसीले नेपालमा ट्रेड युनियनका प्रयासहरुलाई एकीकृत गर्न नेतृत्व लिएको छ र नीतिगत सुधार, औद्योगीक शान्ति र विकासको लागि श्रमिकका साझा मुद्दाहरु उठाउदै आइरहेको छ । जेटीयुसीसीका प्रमुख उपलब्धिहरुमा नयाँ संविधानमा श्रमिकका अधिकारलाई मौलिक हककोरुपमा समावेश गरिनु, नयाँ श्रम ऐन र योगदानमा आधारित सामाजिक सुरक्षा र स्कीमहरुको प्रादुर्भाव हुन् आदि रहेका छन ।
कोभिड–१९ महामारीले नेपालको समगै श्रम बजारमा विनाशकारी प्रभाव पारेको छ । खासगरी असंगठीत क्षेत्रका श्रमिक तथा प्रवासबाट फर्किएका श्रमिकहरुलाई यसले ठूलो धक्का दिएको छ । श्रमिकको स्वस्थ्य सुरक्षा, रोजगार र आय सुरक्षा, सामाजिक संरक्षण आदि सुनिश्चित गर्नको लागि प्रभावकारी कदम चाल्न जेटीयुसीसीले सरकार र रोजगारदातासँग पैरवी गर्दै आएको छ । यद्यपी महामारीको यो विषम परिस्थितीमा मजदुरहरुको लागि सरकारको तर्फबाट राहात तथा अन्य सहयोगहरु उपलब्ध गराइएको छैन । ट्रेड युनियनहरुले आफ्नो स्रोत साधनबाट सबैभन्दा बढी प्रभावीत श्रमिकलाई सक्दो सहयोग गरिरहेका छन् ।
प्रभावकारीरुपमा सामाजिक सुरक्षा र श्रम ऐन कार्यान्वयन गर्न हामीले ठूलो चुनौतीहरुको सामना गरिरहेका छौ । साथै कोभिड महामारीका् वहानामा र श्रम ऐनको धारा १४५को दुरुपयोग गर्दै रोजगारदाताहरु श्रमिक निष्काशन गर्ने र कम सुविधा दिएर आफूर्तिकर्ताको माध्यमबाट श्रमिक नियुक्ति गर्ने क्रम बढेको छ । श्रम ऐनको प्रभावकारी कार्यन्वयन गर्न र श्रमिकको अधिकार कटौती गर्ने कानून संशोधन गर्न हामी संघर्षरत छौं ।
हाम्रो माग र श्रम ऐनका प्रावधान विपरित सरकारले हालै न्युनतम वेतन घोषणा गरेको छ जुन अर्को वर्ष देखि लागु गर्ने भनेको छ । तर यसबारे हामीले सरकारलाई उक्त निर्णय संशोधन गर्न र न्युनतम वेतन अधिल्लो वर्षदेखिनै लागु गर्न चर्को दबाव दिइरहेका छौं ।
कोभिड-१९ संकटको बदलिंदो सन्दर्भमा श्रम तथा रोजगार सम्वन्धमा हामी सबलेै नयाँ चुनौतीहरु सामना गरिरहेकाछौं । तसर्थ, विभिन्न समस्याहरुलाई प्रभावकारी सामाजिक संवादको माध्यमबनट सम्वोधन गर्न र मर्यादित काम सुनिश्चित गर्न हामी सबैले सामाजिक साझेदारहरुसँग आफ्नो प्रतिवद्धता बढाउन जरुरी छ । यी सबै विषयहरुमा आइएलओको सहयोगको लागि म धन्यवाद दिन्छु ।
मलाई विश्वास छ कि यस कठीत घडीमा आयोजना गरिएको यस सम्मेलनले हामीलाई आफ्ना मुद्दाहरुमा केन्द्रीत हुन र श्रमिक अधिकारको लागि संघर्ष गर्न एक ठाउँमा ल्याउँने छ र विश्वभरबाट अझ बढी ऐक्यवद्धता र सहयोग हुनेछ ।
अन्तमा यस सम्मेलनको भव्य सफलताको कामना गर्दछु गर्दै आफ्नो भनाई टुङ्ग्याउँछुु ।
धन्यवाद !