प्रधानमन्त्रीलाई कुर्सी र पार्टी जाेगाउन भाेलि ९ बजेकाे समयसीमा

२६ बैशाख ०७८, काठमाडौं । एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी र कुर्सी जाेगाउन नेपाल-खनाल समूहले साेमबार बिहानसम्मकाे समय दिएको छ ।

आइतबार सिंहदरबारमा बसेको एमालेको नेपाल-खनाल समूहको बैठकले पार्टीको जीवन, संगठन, नेतृत्व र विचार पूर्ववत् अवस्थामा फर्काउन र प्रधानमन्त्रीकाे कुर्सी जाेगाउन ओलीलाई बिहान ९ बजेसम्मकाे समय दिएको हाे ।

“सर्वोच्च अदालतकाे फागुन २३ को फैसलाअनुसार एमाले स्वत: २०७५ जेठ २ को अवस्थामा फर्किएको छ,” बैठकमा सहभागी एक नेताले भने, “यो अवस्थामा पार्टीको जीवन, संगठन, नेतृत्व र विचार पूर्ववत् अवस्थामा फर्कनुपर्छ । त्यसका लागि पार्टी अध्यक्षलाई भोलि बिहान ९ बजेसम्मको समय दिएका हाैँ ।”

पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले नेकपा एमालेलाई २०७५ जेठ २ को अवस्थामा नलगेकाे अवस्थामा भाेलि प्रतिनिधिसभाकाे बैठक अघि नै बैठक बसेर आवश्यक निर्णय लिने ती नेताले बताए ।