७ बैशाख ०७८, कास्की । अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय उपाध्यक्ष एसबी थापा मगरले नयाँ वर्ष प्रतिगमनकारी शक्तिलाई परास्त गर्ने वर्ष साथै योगदानमा आधारित सामाजिक सुरक्षा कोष योजना पूर्ण कार्यान्वयनको वर्ष बनोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।
महासंघको गण्डकी प्रदेश इन्चार्ज समेत रहेका उपाध्यक्ष थापा मगरले मंगलबार अखिल नेपाल पसल तथा सेल्स मजदुर संघ, कर्माचार्य ब्रदर्श इकाई, कास्कीले नयाँ वर्ष २०७८ को अवसरमा आयोजना गरेकोे ‘क्यालेण्डर’ बिमोचन कार्यक्रममा यस्तो बताएका हुन् ।
“नयाँ वर्ष २०७८ प्रतिगमनकारी शक्तिलाई परास्त गर्ने वर्ष बनोस् साथै योगदानमा आधारित सामाजिक सुरक्षा कोष योजना औपचारिक-अनौपचारिक क्षेत्रमा पूर्ण कार्यान्वयन गरियोस्,” उनलेे भने, “श्रम ऐनको दफा १४५ लगायत मजदुर विरोधी दफाहरु खारेजी तथा संशोधन होस्, श्रमिकको न्यूनतम पारिश्रमिक बृद्धि तथा सोको कार्यान्वयन गर्ने वर्ष बन्न सफल रहोस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु ।”
यस्तै महासंघ गण्डकी प्रदेश अध्यक्ष रुद्र गौतमले कार्यक्रममा बोल्दै पसल तथा सेल्स मजदुरहरुले क्यालेण्डर प्रकाशन गरेर नमूना काम गरेको भन्दै अन्य संगठनले पनि सिक्नुपर्ने बताए । साथै, उनले नयाँ वर्षको शुभकामना दिँदै श्रमिकको समस्या हल गर्न पसल तथा सेल्स मजदुरहरुसँगसँगै महासंघ रहेको बताए ।
यसैगरी प्रदेश सचिव भोजराज खत्रीले नयाँ वर्ष २०७८ को शुभकामना दिँदै चैत्रदशैं साथै आउँदै गरेको मई दिवसको शुभकामना व्यक्त गरेका थिए ।
“नयाँ क्यालेन्डर २०७८ काे विमाेचन” कार्यक्रमका प्रमुख अतिथि एवम् महासंघका केन्द्रीय उपाध्यक्ष एसबी थापा मगर, अतिथिद्वय गण्डकी प्रदेश अध्यक्ष रुद्र गौतम र सचिव भोजराज खत्रीले सामूहिक रुपमा विमोचन गरेका थिए ।
पसल तथा सेल्स मजदुर संघ, कर्माचार्य ब्रदर्श इकाईकाे अध्यक्ष कमल नाथ सुवेदीकाे अध्यक्षतामा भएको उक्त कार्यक्रमकने सञ्चालन सचिव कमल बहादुर बस्नेतले गरेका थिए ।