२७ माघ ०७७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले माघ २८ गते प्रतिनिधिसभा विघटनको साथै सरकारको अवैधानिक निर्णय र नियुक्तिहरुको विरूद्ध काठमाडौंका विरोध प्रदर्शन तथा सभा गर्दैछ ।
गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि विरोधमा उत्रिएको नेकपा प्रचण्ड–माधव समूहले बुधबार राजधानीको प्रदर्शनीमार्ग–रत्नपार्क–भद्रकाली सडकखण्डको बीच (तीनदोबाटो) पारेर विरोध सभा गर्न लागको हो ।
“राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षा गरौं” भन्ने मूलनाराका साथ प्रतिनिधिसभा विघटनको असंवैधानिक एवम् प्रतिगामी कदमका विरुद्ध नेकपाको केन्द्रीय संघर्ष समितिले आयोजना गरेको कार्यक्रममा राजधानीको मुख्य पाँच स्थानबाट जुलुस निस्कने बताइएको छ ।
संघर्ष समितिका एक नेता समेत रहेका अन्टुफ अध्यक्ष एवम् बागमती प्रदेश सांसद जगत सिम्खडाकाअनुसार राजधानीको विभिन्न पाँच स्थानबाट सहायक जलुस निस्कनेछ भने मूल जुलुस सुन्धारा, वीर अस्पताल, जमल, घण्टाघर, बागबजार, पुतलीसडक, पदमोदय मोड, प्रदर्शनी मार्ग हुँदै सभा स्थल प्रवेश गर्नेछ ।
सांसद सिम्खडाले बुधबार राजधानीमा नेकपाले आयोजना गरेको बृहत विरोध प्रदर्शनका लागि पुल्चोक आर्कबाट कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्त, प्रमेश हमाल लगायतले जुलुसको नेतृत्व गर्ने जानकारी दिए । यस्तै यस आर्कबाट जुलुस पुल्चोक, कुपण्डोल थापाथली, त्रिपुरेश्वर हुँदै सुन्धारा पुगेर मूल जुलुसमा मिल्ने समेत उनले बताए ।
यसैगरी त्रिपुरेश्वर आर्कबाट निस्कने जुलुसको नेतृत्व अष्टलक्ष्मी शाक्य, धनश्याम भुसाल, चक्रपाणी खनाल, जनार्दन शर्मा, मुकुन्द न्यौपाने युवराज ज्ञवाली, वर्षमान पुन, सुरेन्द्र पाण्डेले गर्ने र जुलुस त्रिपुरेश्वर हुँदै सुन्धारा पुगेर मूल जलसमा मिसिने पनि उनले बताए ।
यस्तै माइतीघर आर्कबाट निस्कने जुलुसको अमृत बोहोरा, गणेश शाह, गिरिराजमणि पोखरेल, भीम आचार्य, मातृका यादव, हरिबोल गजुरेल लगायतले गर्ने बताइएको छ भने जुलुस माइतीघर, थापाथली, त्रिपुरेश्वर हुँदै सुन्धारा पुगेर मूल जुलुसमा सहभागी हुनेछ ।
यस्तै केशरमहल आर्कमा देवप्रसाद गुरुङ, देवेन्द्र पौडेल, भीम रावल, शक्तिबहादुर बस्नेत साथै मजदुरका नेताहरु समेतको नेतृत्व रहनेछ । यस आर्कबाट जुलुस केशरमहल, दरबारमार्ग, तीनधारा पाठशाला, जमल, कमलादी, असन, इन्द्रचोक जुद्ध शालिक न्यूरोड हुँदै मूल जुलुसमा सहभागी हुनेछ ।
यसैगरी जमल आर्कमा लीलामणि पोखरेल, केन्द्रीय कमिटी सदस्यहरु, पेशागत संगठन हेर्ने कन्द्रीय सदस्यहरु, पेशागत , उद्योग व्यवसायी तथा बुद्धिजीवी क्षेत्रका नेताहरूले नेतृत्व गर्नेछन् । यस आर्कका सहभागीहरू जमल, कमलाक्षी, असन, इन्द्रचोक, जुद्धशासलक, न्यूरोड हुँदै सुन्धारा पुगेर मूल जुलुसमा मिल्नेछ ।
सबै आर्कबाट निस्किएका जुलुस सुन्धारा पुगेर मूल जुलुसमा परिणत भई वीर अस्पताल, जमल, घण्टाघर, बागबजार, पुतलीसडक, पदमोदय मोड, प्रदर्शनी मार्ग हुँदै सभा स्थल प्रवेश गर्ने अन्टुफ अध्यक्ष सिम्खडाले जानकारी दिए ।