६ पुस ०७७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री के.पी. शर्मा ओलीले चालेको प्रतिनिधि सभा विघटनको कदम असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश, पश्चगामी एवम् स्वेच्छाचारी भएको बताएका छन् ।
सोमबार बिहान एक प्रेस वक्तव्य जारी गरेर अध्यक्ष प्रचण्डले कुनै व्यक्तिको पार्टी, राष्ट्र र जनता विरोधी कार्यले पार्टीको एकतालाई असर नपर्ने भन्दै यस्तो बताएका हुन् ।
“म पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता, पार्टी पङ्क्ति र आम–जनसमुदायलाई के तथ्य स्पष्ट पार्न चाहन्छु भने हाम्रो पार्टी एकतावद्ध छ र कुनै व्यक्तिको पार्टी, राष्ट्र र जनता विरोधी यसप्रकारका कार्यले हाम्रो पार्टीको एकतालाई कुनै तात्विक असर पर्ने छैन,” वक्तव्यमा अघि भनिएको छ, “हाम्रो पार्टीका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री के.पी. शर्मा ओलीले चालेको प्रतिनिधि सभा विघटनको असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश, पश्चगामी एवम् स्वेच्छाचारी कदमलाई हिजो बसेको स्थायी कमिटीको बैठकले विरोध एवम् भत्र्सना गर्दै पूर्णरुपमा अस्वीकार गर्ने र पार्टी अध्यक्ष कमरेड ओलीलाई अनुशासनको कारबाहीका निम्ति स्पष्टिकरण माग्ने निर्णय गरेको बिषय सार्वजनिक भइसकेको छ ।”
राष्ट्रको समृद्धि र नेपाली कम्युनिष्ट आन्दोलनको भविष्यका निम्ति पार्टी एकतालाई कमजोर पार्ने सबै प्रकारका प्रवृति र तत्वहरुका विरुद्ध एकतावद्ध भएर उभिन आग्रह गर्दै उक्त व्यक्तव्यमा भनिएको छ, “कुनै व्यक्तिको पार्टी विरोधी गतिविधिले एकीकृत पार्टीको संरचना र पार्टी एकतालाई भत्काउन नसक्ने छैन र त्यसप्रकारको कुनै भ्रमात्मक प्रचारमा नपर्न पनि म सबैलाई अपील गर्दछु ।”