विज्ञापनलाई बदलिँदो परिवेशअनुसार अघि बढाउन सञ्चारमन्त्रीको निर्देशन

२४ मंसिर ०७७, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले विज्ञापन बोर्डलाई सबै सञ्चारगृहका लागि स्वागतयोग्य विज्ञापन नीति बनाउन निर्देशन दिएका छन् ।

आज विज्ञापन बोर्ड कार्यालयको उद्घाटन गर्दै मन्त्री गुरुङले देशभरको विज्ञापनलाई कसरी एकीकृत र समानुपातिक गरी व्यवस्थापन गर्ने भन्ने विषयमा ध्यान दिएर नीति बनाउन निर्देशन दिएका हुन् ।

विज्ञापन बोर्ड ऐन २०७६ को सही तरिकाले कार्यान्वयन गर्नका लागि बोर्डको स्थापना गरिएको भन्दै सञ्चारमन्त्री गुरुङले हाल विज्ञापन क्षेत्रमा देखिएका विकृतिलाई चिरफार गर्ने गरी नीति निर्माण अघि बढाउनु पर्नेमा जोड दिए । साथै, विज्ञापन सेवालाई बदलिँदो परिवेशअनुसार अघि बढाउनु पर्ने उनले बताए ।

कार्यक्रममा बोर्डका कामुअध्यक्ष डिल्लीराम शर्माले कसैले प्रश्न उठाउन नसक्ने गरी कार्यविधि बनाउन प्रयास गर्ने प्रतिबद्धता जनाएका थिए ।

यही मङ्सिर ११ गते बसेको मन्त्रिस्तरीय बैठकले नौ सदस्यीय बोर्डको गठन गरेको थियो ।