पर्साको मालपोत प्रमुखसहित २१ जना पक्राउ

१ कार्तिक ०७७, पर्सा । जिल्लाको मालपोत कार्यालयबाट कार्यालय प्रमुखसहित २१ जनालाई जिल्ला प्रसाशन कार्यालय पर्साको टोलीले नियन्त्रणमा लिएको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले दिएको जानकारी अनुसार कार्यालय समयपछि कर्मचारीबाहेकका मान्छेहरु समेत कार्यालयमा पसेर कर्मचारीले शंकास्पद गतिविधि गर्न लागेको सूचनाका आधारमा उनीहरूलाई बिहीबार नियन्त्रणमा लिइएको हो ।

प्रजिअ तामाङले सहायक प्रमु्ख जिल्ला अधिकारी भीमकान्त पौडेलको नेतृत्वमा प्रसाशकीय अधिकृत विनय श्रीवास्तव, प्रहरी निरीक्षक राजेशराज पुरीसहितको टोलीले मालपोत कार्यालयमा राति ९ बजे छापा मारेर नियन्त्रणमा लिएको बताए ।

‘हामी राति करिब ९ बजे कार्यालयमा पुग्दा केही कर्मचारी र कार्यालयसँग असम्बन्धित केही मानिसहरू दुईवटा कोठामा फाइल केलारहेका थिए,’ प्रहरी निरीक्षक पुरीले भने, उनीहरुलाई रोकेर हामीले नियन्त्रणमा लिन सफल भयौं ।’

उनले मालपोत कार्यालयका निमित्त कार्यालय प्रमुख सुमनकुमार झासहित १३ कर्मचरी र ८ जना कार्यालय बाहिरका मानिसको सुरुमा नाम, परिचय लगायतका विवरण लिएर नियन्त्रणमा लिएको बताए ।