नर्भिकका श्रमिकहरु न्याय खोज्दै अन्टुफ कार्यालय पेरिसडाँडा पुगे

१० असोज ०७७, काठमाडौं । नर्भिक अस्पताल स्थापना भएसँगै हालसम्म कार्यरत श्रमिक तथा कर्मचारीहरु न्याय खोज्दै अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ)को कार्यालय पेरिसडाँडामा पुगेका छन् ।

अस्पताल प्रशासनले बिनाकारण श्रमिकहरुलाई निश्कासन पत्रमा हस्ताक्षर गराएर निश्कासन गर्न लागेपछि श्रमिक तथा कर्मचारीहरु बिहीबार महासंघ कार्यालय पेरिसडाँडा पुगेका हुन् ।

सत्तारुढ दलनिकट अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय अध्यक्ष एवम् बागमती प्रदेश सांसद जगत सिम्खडाले नर्भिक अस्तालतमा कार्यरत श्रमिक तथा कर्मचारीहरु आफूहरुमाथि अन्याय भएकाले रोजगारीको निरन्तरताका लागि आवश्यक पहल गरिदिन भन्दै महासंघ कार्यालयमा आएको जानकारी दिए ।

निश्कासनमा परेका मजदुरहरुको समस्या सुनिसकेपछि अध्यक्ष सिम्खडाले कोभिड–१९ महामारीका बेला बिनाकारण अग्रमोर्चा खटिरहेका श्रमिक तथा कर्मचारीहरुलाई रोजगारीबाट निश्कासन गरिए महासंघ चुप लागेर नबस्ने बताए ।

उनले भने, “रोजगारदाता र श्रमिक संगठनबीच भएका सहमतिविपरीत साथै श्रम ऐनको समेत उल्लङ्घन हुनेगरी श्रमिक तथा कर्मचारीहरुलाई कसैले रोजगारीबाट निकाल्छ भने मजदुरको हकहित र अधिकारका लागि महासंघले जस्तोसुकै मूल्य चुकाउन तयार छ ।”

सबैभन्दा चलेको अस्पताल साथै अत्यावश्यक क्षेत्र समेत रहेको नर्भिक अस्पतालले श्रम तथा आर्थिक शोषण साथै मानसिक शोषण समेत गरेको समाचारहरु विभिन्न सञ्चार माध्यममा समेत आइरहेका भन्दै अध्यक्ष सिम्खडाले मजदुरको पुनर्वबहाली नगरे ठूलो मूल्य चुकाउनु पर्ने बताए ।

नर्भिक अस्पताल स्थापना भएदेखि हालसम्म सोही अस्पतालमा कार्यरत रहेका श्रमिकहरुले महासंघको कार्यालय पुगेर आफूहरुलाई काममा नबोलाइएको भन्दै आफूहरुको रोजगारी निरन्तरताका लागि महासंघले आवश्यक पहल लिन अध्यक्ष सिम्खडालाई विशेष अनुरोध गरेका थिए ।

अखिल नेपाल स्वास्थ्य श्रमिक संघ नर्भिक इकाईका अध्यक्ष प्रेम गिरिले कोही पनि श्रमिकहरु जागिरबाट निश्कासन नहुने तर स्वेच्छाले जागिर छोड्न चाहने श्रमिहरुलाई श्रम ऐनअनुसार प्राप्त सेवा सुविधासहित जाने व्यवस्था हुने बताए ।