२९ भदौ ०७७, काठमाडौँ । आज भदौ २९ गते अर्थात् राष्ट्रिय बाल दिवस–२०७७ । “बिपदमा बाल अधिकारको सुनिश्चितता : हामी सबैको साझा प्रतिबद्धता–” भन्ने नाराका साथ मनाइदैछ ।
यस वर्ष कोरोना भाइरसका कारण सार्वजनिकरुपमा जम्मा भएर कार्यक्रम गर्ने अवस्था नरहे पनि बाल दिवसको अवसरमा विभिन्न संघ संस्थाले भर्चुअल साथै विद्यालयहरुले अनलाइन कक्षामार्फत् विद्यार्थीहरुलाई सहभागी गराएर बाल दिवस मनाउँदै छन् ।
नेपालको सन्दर्भमा “बालदिवस” रत्नराज्य लक्ष्मीदेवी शाहले भारत भ्रमण गर्ने क्रममा भारतमा महात्मा गान्धीको जन्मदिनमा बालदिवस मनाउने गरेको पाएपछि भारतबाट फर्किएपछि आफ्नो जन्मदिन पारेर २०२१ भदौ ४ गते नेपाल बाल संगठन स्थापना गरी बालमन्दिरमार्फत् अनाथ बालबालिकाको संरक्षणको थालनी गरेको र सोही दिनलाई राष्ट्रिय बालदिवसको घोषणा गरेर नियमित रूपमा बालदिवस मनाउन थालिएको पाइन्छ ।
देशमा लोकतन्त्रको बहाली भएसँगै नेपालमा बाल दिवस मनाउने मिति परिवर्तन गरियो । नेपालले बालअधिकारसम्बन्धी महासन्धी १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बाल सहभागिताजस्ता विषयमा अन्तर्राष्ट्रिय प्रतिवद्धता गरेको दिनलाई राष्ट्रिय बाल दिवसको रुपमा मनाउन सुरु गर्यो ।
नेपालमा २०२१ साल भदौ ४ गतेदेखि मनाउन सुरु गरिएको राष्ट्रिय बाल दिवस २०६३ सालदेखि भदौ २९ गते मनाउने गरी मिति परिवर्तन भएको हो ।