दुबईबाट १६४ नेपाली काठमाडौं आइपुगे

८ भदौ ०७७, काठमाडौं । त्रिभुवन अन्तर्राष्टिय विमानस्थल कार्यालयले दुबईबाट १६४ नेपाली काठमाडौं अवतरण गरेको बताएको छ ।

विमानस्थल कार्यालयले गत सोमबार दुबई एयरपोर्ट आएर नेपाल फर्किन नपाएका एक बच्चासहित १६४ जना नेपालीलाई आइतबार नेपाल एयरलाइन्सको जहाजले काठमाडौं ल्याएको जानकारी दिएको हो ।

गतहप्ता सरकारले आकस्मिकरुपमा सबै हवाई उडान बन्द गर्ने निर्णय गरेपछि यात्रु लिन दुबई पुगेको नेपाल एयरलाइन्सको जहाज रित्तै फर्किएको थियो ।

विमानस्थल कार्यालयकाअनुसार आइतबार नागपुरबाट भोल्गा एयरलाइन्सका जहाज कार्गो लिएर काठमाडौं आइपुगेको छ ।

यस्तै आइतबार आन्तरिकतर्फ तारा एयरले लुक्लामा कार्गो उडान गरेको छ भने सिता एयरले नेपालगन्जबाट ८ यात्रुलाई काठमाडौं उतारेको छ ।

यस्तै प्रभु हेलीले पोखराबाट ३ यात्रुलाई काठमाडौं ल्याएको छ भने एयर डाइनेस्टीबाट ३ तीन यात्रु बिराटनगर पुगेका छन् । साथै यही हेलीमा एक यात्रु काठमाडौं आइपुगेका छन् ।

त्रिभुवन विमानस्थल कार्यालयले चार जना यात्रु बोकेर लुक्ला गएको मनाङ एयरले फर्कंदा भने ३ जना यात्रु लिएर आएको जानकारी समेत दिएको छ ।