अछाममा बाढीले बगाएका १२ जनाको शव भेटियो

३ भदौ ०७७, अछाम । जिल्लाको कैलाश खोलामा गएराति करिब १ बजेतिर आएको बाढीले बगाएर बेपत्ता १२ जनाको शव भेटिएको छ ।

अछामका प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले बेपत्ता १७ मध्ये १२ जनाको शव भेटिएको बताए ।

रामारोशन गाउँपालिका–५ सैनीबजारबाट बगाएका स्थानीयको शव निकै टाढा भेटिएको बताउँदै प्रजिअ उपाध्यायले बेपत्ताहरुको खोजी कार्य जारी रहेको बताए ।

उनले भने, ‘सैनीबजारका ३० पसलसहित १७ जना स्थानीयलाई बगाएको छ, ठूलो बाढीका कारण खोजी कार्यमा निकै समस्या भइरहेको छ ।’

श्री नं ५ बाहिनी अड्डा दिपायल राजपुरका बाहिनीपति सहायकरथी होमनाथ दवाडीले नेपाली सेनाको एआई १७ हेलिकप्टर बाढीले बगाएकाहरुको खोजी कार्यमा परिचालन भएको बताएका छन् ।

यस्तै जिल्ला प्रहरी कार्यालय अछामले खोजी कार्यमा अछामका प्रजिअ उपाध्याय, जिल्ला प्रहरी कार्यालयका डिएसपी योगेन्द्रसिंह थापासहितको टोली साथै सशस्त्र प्रहरी बल, जनप्रतिनिधि तथा स्थानीयवासीको टोली खटिएको जनाएको छ ।