युवा तथा साना व्यवसायी स्वरोजगार कोषको उपाध्यक्षमा डा. कल्याण रोका नियुक्त

२ भदौ ०७७, काठमाडौं । बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद बैठकले राजदूत लगायत विभिन्न पदमा नियुक्त गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बैठकपछि एक मन्त्रीले दिएको जानकारीअनुसार परराष्ट्र मन्त्रालयका सहसचिवत्रय तापस अधिकारी, गेहेन्द्र राजभण्डारी र रामकाजी खड्कालाई राजदूतमा सिफारिस गर्ने निर्णय गरेको छ ।

बैठकले कास्कीका पत्रकार दुर्गा भण्डारीलाई प्रेस काउन्सिल नेपालको कार्यबाहक अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको छ ।

यस्तै युवा तथा साना व्यवसायी स्वरोजगार कोषको उपाध्यक्षमा डा. कल्याण रोकालाई नियुक्त गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।

यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)लाई कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रणका लागि आवश्यक योजना तयार गर्न निर्देशन दिएको पनि ती मन्त्रीले बताए ।

सिसिएमसीले प्रतिवेदन ल्याएपछि मन्त्रिपरिषद्बाट निर्णय लिने समेत बैठकमा छलफल भएको उनले बताए ।

सरकारले बाढी पहिरोमा परेर ज्यान गुमाउनेका परिवारलाई क्षतिपूर्ति र घाइतेलाई उपचार गर्ने निर्णय समेत गरेको छ ।