आत्मसमर्पणवादले वर्तमान समस्याको समाधान हुन सक्दैन – देवशरण यादव

देवशरण यादव

काठमाडौं । जब मधेसीहरु मधेसी वा नेपालीको पेटेन्ट मात्र आफू र आफ्नो हो भनी प्रमाणित गर्न कोशिस गर्दछ, बुझ्नुस् केही गडबड छ ।

अतिवादले अतिवादलाई जन्म दिन्छ । आत्मसमर्पणवादले दास जन्माउँदछ ।

कथित खाटी मधेसवादीहरुको चरित्र पटकपटक उदाङो भएकै छ । नेपाली शासकद्वारा मधेश र मधेसीमाथिको गरिएको उपनिवेशिक चरित्रको शोषणवाट मुक्तिका लागि मधेसी जनताले बलिदानको जगमा खडा गरेका पार्टीहरुबाट मधेस र मधेसी जनताले के पाए ? मधेसको मसिहाहरुले पहिलो राष्ट्रपतिको चुनावमा गणतन्त्रका पिता भनिने स्व. रामराजा प्रसाद सिंहको सट्टा मधेसको ‘म’कहिले उच्चारणसम्म नगरेका व्यक्तिलाई राष्ट्रपतिमा भोट हाले ।

संविधानले दिएका अधिकार प्रयोग गरेर हालै नक्सा प्रकरणमा सरिता गिरिले राखेको मतप्रति वा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा उभिनुको सट्टा के कति कारणले वा कुन बाध्यताले वा कुन प्रलोभनको कारणले लिला सिटौलालाई सांसद बनाउनकै निमित्त सरिता गिरिको बलिदान दिइयो । मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारीको ट्वीटमाथि आयोगले आपत्ति जनाउँदा पार्टीहरु किन मौन भए ? हालैको राष्ट्रिय सभाको चुनावमा राजपाको भोटले दुई नम्बर प्रदेशवाट मा.तुलसा कुमारी दाहाल निर्वाचित भए । चुनवामा नेकपा, नेका लगायतका पार्टीलाई घोर विरोध गरेर, अझ वर्तमान प्र.म. केपी शर्मा ओलीलाई सत्तोसराप गरेर मधेसी जनताबाट भोट बटुल्नेहरुले चुनाव सकिने बितिकै सरकारमा कुन नैतिकताले सहभागी भए ? मधेसीको मुद्दामा आधारित पार्टीहरु कुन नैतिक धरातलमा पार्टीलाई राष्ट्रिय पार्टी बनाउन भ्याए ? के मधेसी दलको राष्ट्रियकरणले मधेशी जनताले सबैखाले उत्पीडनबाट मुक्ति पाए ?

प्रदेश २ सरकार र स्थानीय निकायले अन्य प्रदेश सरकार र स्थानीय सरकारभन्दा कुन आधारमा फरक ढंगले काम गरिरहेका छन् ? के भ्रष्टाचार, कमिशनतन्त्र, आफन्तवाद, कृपावाद आदिको सन्दर्भमा नेकपा र नेकाभन्दा जसपाको प्रदेश र स्थानीय सरकार भिन्न छ त ?

अर्को कुरा, आत्मसमर्पणले मधेसीमाथिको उत्पीडन अन्त हुन्छ त ? इतिहासकालदेखि वर्तमानसम्म जुनजुन मधेसीले ढाका टोपी, दौरा सुरुवाल लगाउँदा वा पहाडी समुदायमा बिहेवारी गरेता पनि, शासकहरुको गुलामी गरेता पनि नेपालीको पहिचान पाउन सकेनन् ।

तितो सत्य के हो भने मधेसीहरुले आफूलाई नेपाली प्रमाणित गर्न गरिएका न्वारानदेखिको बलले समेत सार्थकता पाएन । वामपन्थी (कम्युनिष्ट) होस् वा दक्षिणपन्थी (काग्रेस) होस् तिनले केही मधेसी नेतालाई शो–केशमा राखी पार्टी संचालन गरिरहेका छन् । किसान आन्दोलन, राणा विरोधी आन्दोलन, जनयुद्धको जग मधेस हुनु र त्यसमा मधेसी जनताले उत्साहपूर्व सहभागी जनाएका भए पनि मधेसीहरुलाई नेतृत्वमा पुग्न दिइएन, नेतृत्व मात्र होइन निर्णय प्रक्रियामा समेत प्रभावकारी तवरले सहभागी गराइएन । पार्टीहरु वर्ग वा विचारभन्दा जात (समुदाय)मा आधारित र संचालित भए । यहाँका राजनीतिक, आर्थिक, प्रशानिक, कर्मचारी, न्याय आदि सम्पूर्णतन्त्रहरु अझै पनि एकल जातीय आधारित रहेका छन् ।

तसर्थ, कुनै अतिवाद (स्वघोषित खाटी र मसिहा) वा आत्मसमर्पणवादले वर्तमान समस्याको समाधान हुन सक्दैन । अतिवादले अन्धभक्तहरु पैदा गर्छ, जहाँ विवेक शून्य हुन्छ । सत्य–तथ्यभन्दा भावना वा विश्वासले मुख्य भूमिका खेल्दछ । यसले मधेसीमाथि शासकहरुले गरेको शोषणको विरोध त गर्छ तर मधेसीमाथि मधेसीले गरेको विश्वासघात, शोषण, भ्रष्टाचार आदिबारे आँखा चिम्लिने प्रवृत्तिको विकास गराउँछ । जसले अन्ततः शोषकहरुलाई नै फाइदा पु¥याउँदछ । साथै, आत्मसमर्पणवादले दास मानसिकताको विकास गराउँदछ । जसले विद्रोह र विरोधको मार्गअवरुद्घ हुन्छ, मुक्ति अनन्तको विषय बन्न पुग्दछ ।

प्रस्तुत आलेख, लेखकका निजी विचार हुन् ।