२८ साउन ०७७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा मृत्य हुने कोरोना संक्रमितको संख्या ९१ पुगेको जानकारी दिएको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले कोरोनाको राष्ट्रिय अद्यावधिक विवरणबारे जानकारी दिँदै निधन भएका कोरोना संक्रमितको संख्या ९१ पुगेको बताएका हुन् ।
उनले काठमाडौं महानगरपालिका १२ टेकु निवासी ७८ वर्षीया एक महिलाको साउन २८ गते बिहान १ः१५ बजे किष्ट अस्पतालमा, धादिङ जिल्ला निलकण्ठ नगरपालिका १४ बस्ने ३२ वर्षीय एक पुरुषको साउन २७ गते हयाम्स अस्पतालमा, धनुषा जिल्ला जनकपुर उपमहानगरपालिका १ निवासी ७१ वर्षीय एक पुरुषको साउन २८ गते मेडिसिटी अस्पतालमा निधन भएको बताए ।
यस्तै धनुषा जिल्ला जनकपुर उपमहानगरपालिका ८ निवासी ३८ वर्षीया एक महिलाको साउन २८ गते १ः०५ बजे पाटन अस्पतालमा साथै सप्तरी जिल्ला डाक्नेश्वरी नगरपालिका ८ घर भई राजविराज बस्दै आएका ७२ वर्षीय एक पुरुषको साउन २७ गते राति निधन भएको प्रवक्ता गौतमले जानकारी दिए ।
यसैगरी मोरङ जिल्ला बुढीगंगा गाउँपालिका २ निवासी ५५ वर्षीय एक पुरुषको साउन २८ गते विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा, कपिलवस्तु जिल्ला कपिलवस्तु नगरपालिका २ तौलिहवा निवासी ४२ वर्षीय एक पुरुषको साउन २८ गते बिहान ४ः२५ बजे बुटवलस्थित कोरोना विशेष अस्पतालमा र बारा जिल्ला कलैया उपमहानगरपालिका निवासी ७५ वर्षीय एक पुरुषको साउन २८ गते किष्ट अस्पताल ललितपुरमा निधन भएको पनि उनले बताए ।
उनले हाल नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ४ सय ३२ पुगेको साथै सक्रिय संक्रमितको संख्या ७ हजार ६ सय १३ रहेको बताए ।
हालसम्म क्वारेन्टाइनमा १४ हजार ८ सय ४६ जना रहेका छन् भने निको भएर घर फर्किने कोरोना संक्रमितको संख्या १६ हजार ७ सय २८ पुगेको छ ।