२७ असार ०७७, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले अबिरल वर्षासँगै आएको बाढीपहिरोका कारण देशभर करिब ५ सय मेगावाट विद्युत् उत्पादन अवरुद्ध भएको बताएको छ ।
हालसम्म नेपाल विद्युत् प्राधिकरण मातहतका २४० मेगावाट र निजी क्षेत्रका २५० मेगावाट विद्युत् उत्पादन अवरुद्ध हुन पुगेको प्राधिकरणले बताएको हो ।
वर्षात्का कारण विभिन्न स्थानमा प्रसारण तथा वितरण लाइनको तार चुँडिने, रुख ढलेर लाइनमा क्षति पुग्दा विद्युत् उत्पादन, प्रसारण र वितरण प्रणाली प्रभावित भएको भन्दै प्राधिकरणले सबैभन्दा ठूलो १४४ मेगावाटको कालीगण्डकी ‘ए’ विद्युत् गृह शुक्रबार बिहान ८ बजेबाट बन्द भएको बताएको छ ।
प्राधिकरणको स्वामित्वका ७० मेगावाटको मध्यमस्र्याङ्दी, १६ मेगावाटको त्रिशूली, १४ मेगावाटको देवीघाट विद्युत् गृह अहिले बन्द भएका छन् । निजी क्षेत्रको ४५ मेगावाटको माथिल्लो भोटेकोसीको उत्पादन पनि बन्द भएको छ ।
यस्तै इलामको सिद्धीथुम्कामा काबेली करिडोर प्रसारण लाइनमा क्षति पुग्दा यस लाइनमा जोडिएका विद्युत् आयोजनाको करिब १५० मेगावाट विद्युत् उत्पादन बन्द गर्नुपरेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले अवरुद्ध विद्युत् गृह, प्रसारण तथा वितरण लाइन यथाशीघ्र सञ्चालन गरी आपूर्ति व्यवस्थापन गर्न प्राविधिक खटाइसकेको जनाएको छ ।