अब चल्ने भो ट्याक्सी, संसदीय समितिले दियो सरकारलाई निर्देशन

२४ असार ०७७, काठमाडौं । संघीय संसदको विकास तथा प्रविधि समितिले सरकारलाई सार्वजनिक यातायातसँग सम्बद्ध ट्याक्सी सञ्चालनको व्यववस्था मिलाउन निर्देशन दिएको छ ।

बुधबार बसेको समितिको १०१औं बैठकले नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई यस्तो निर्देशन दिएको हो ।

समितिले यातायात व्यवसायीका प्रतिनिधिसँगको छलफलपछि ट्याक्सी सञ्चालनको व्यवस्था मिलाउन सरकारलाई दिएको निर्देशनमा भनिएको छ, “विश्व स्वास्थ्य संगठन, नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कोभिड–१९ काइसिस म्यानेजमेन्ट कमिटी (सीएमसी)ले तयार पारेका मापदण्ड पूरा गरी सरकारले लकडाउनको अवधिमा पनि केही पेशा व्यवसाय सञ्चालन गर्ने व्यवस्था गरेकाले सोही मापदण्डलाई पूरा गरी अर्थतन्त्रलाई थप चलायमान बनाउन, सर्वसाधारणलाई आवतजावतमा थप सहजता प्रदान गर्न सार्वजनिक यातायातसँग सम्बद्ध ट्याक्सी यातायात सञ्चालनको लागि आवश्यक व्यवस्था मिलाउन समिति नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन गर्दछ ।”

नेपाल सरकारले २०७६ चैत ११ गतेदेखि कोरोना भाइरसका कारण बन्दाबन्दी लागू गरेपछि असंगठित क्षेत्र मध्ये पनि सार्वजनिक यातायात क्षेत्र बढी नै प्रभावित भएको यातायात मजदुरहरुको गुनासो रहेको छ ।

उनीहरुले लामो समय सवारी साधन ग्यारेज बस्दा बिग्रने अवस्थामा पुग्नुका साथै बैंकको किस्ता तिर्न नसक्ने अवस्थामा पुगेको बताउँदै आइरहेका छन् ।