नेकपाको स्थायी कमिटी बैठक स्थगित, अर्को बैठक शनिबार बस्ने

१८ असार ०७७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बिहीबार (छैटौं दिन) बसेको स्थायी कमिटी बैठक स्थगित भएको छ । साथै, अर्को बैठक शनिबार बस्ने भएको छ ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच स्थायी कमिटी बैठकलाई निरन्तरता दिने समझदारी भए पनि बैठक चलिरहेकै बेला मन्त्रीहरूलाई मन्त्रिपरिषद बैठकको सूचना आएपछि बैठक स्थगित भएको हो ।

आजको बैठकमा केशव बडाल र अमृतकुमार बोहराले आ-आफ्ना धारणा राखेका थिए । त्यसैक्रममा मन्त्रिपरिषदको बैठकले बिहीबार बेलुका ५ः०० बजेदेखि दुबै सदनको चालू अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय भएको सन्दर्भमा नयाँ एजेण्डामा छलफल गर्न खोजिए पनि बैठक अघि बढ्न सकेन ।

यसैबीच अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव विष्णु पौडेलले अर्का अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर मन्त्रिपरिषद बैठक र निर्णयबारे जिज्ञासा राखे । जवाफमा ओलीले मन्त्रिपरिषद् बैठक राखेर संसद् अधिवेशन स्थगन गराएको जानकारी गराएका थिए ।

यसपछि अध्यक्ष प्रचण्ड राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगे । शितलनिवासबाट फर्केसँगै पुनः बेलुका ४ः३० बजे बसेको बैठकले असार २० गते ११ बजे बस्ने गरी बैठक स्थगित गरेको थियो ।

नेकपाको विकसित पछिल्ला घटनाक्रमले पार्टी विभाजनको खतरा बढेसँगै अध्यक्षद्वय बिच सहमति खोजेर अघि बढ्न स्थायी कमिटी बैठक शनिबारसम्म स्थगित गरिएको छ ।

बैठकपछि नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले शुक्रबार अध्यक्षद्वय साथै सचिवालयका नेताहरूबीच पार्टी एकतामा देखिएको संकट समाधानमा केन्द्रित भएर छलफल हुने जानकारी दिए ।