१६ असार ०७७, काठमाडौं । ट्याक्सी चालक मजदुरहरुले सार्वजनक सवारी सञ्चालन गर्न पाउनु पर्ने भन्दै सरकारलाई खबरदारी तथा चावी हस्तान्तरण कार्यक्रम गर्दैछन् ।
मंगलबार बिहानै आफ्ना सवारी साधनसहित बानेश्वरस्थित यातायात व्यवस्था विभाग, मीनभवनको कार्यालय पुगेका ट्याक्सी चालक मजदुरहरुले निजी सवारी साधन चल्न दिएको सरकारले सार्वजनिक गाडीलाई प्रतिबन्ध लगाएको भन्दै आन्दोलनमा उत्रिएका हुन् ।
आफ्ना मागहरु सुनुवाई नभएपछि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अखिल नेपाल यातायात मजदुर संघ र स्वतन्त्र यातायात मजदुर साथै नेपाली काँग्रेस निकट नेपाल यातायात मजदुर संघ सडक आन्दोलनमा आउन बाध्य भएको उपत्यका ट्याक्सी विशेष समितिका अध्यक्ष सूर्य तामाङले बताए ।
अखिल नेपाल यातायात मजदुर संघ, उपत्यका ट्याक्सी विशेष समिति र उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजले यातायात व्यवस्था विभागलाई ज्ञापन पत्र बुझउँदै निजी सवारी साधान जस्तै उही प्रकृतिका सार्वजनिक गाडी सञ्चालनको व्यवस्था गर्न ध्यानाकर्षण गराएका थिए ।
अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय सचिव एवम् अखिल नेपाल यातायात मजदुर संघका पूर्वअध्यक्ष सोम तामाङले कोरोनालाई देखाएर सार्वजनिक सवारी साधनलाई रोक लगाई सरकारले टुटल, पठाओलाई बैधानिकता दिन खोजेकाले मजदुरहरु रोजीरोटीका लागि सडकमा आउनु स्वभाविक भएको बताए ।
यातायात मजदुरहरुले अहिले १० बजे विभागका निर्देशकलाई विरोध पत्र बुझाउने कार्यक्रम रहेको उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजको अध्यक्ष सानु पूर्वछानेले जानकारी दिए ।
अहिले हजारौं ट्याक्सी चालक मजदुररु आफ्ना सवारी साधनसहित बानेश्वरको यातायात ब्यवस्था विभागको कार्यालयमा पुगिसकेको अखिल नेपाल यातायात मजदुर संघका बागमती प्रदेश अध्यक्ष दिपक केसीले बताए ।
विरोध कार्यक्रममा सहभागी ट्याक्सी चालक मजदुरहरुले “स्वास्थ्य मापदण्ड बनाई ट्याक्सी सेवा सञ्चालन गर, ऋण थपियो सरकार, निन्द्रा लागेन, विभेदकारी नीति अन्त्य गर” लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरिरहेका छन् ।
“लकडाउन अवधिको बैंक किस्ता, ब्याज तथा सरकारलाई तिर्नुपर्ने विभिन्न करहरु मिनाहा गराउन पहल गरियोस्, लकडाउन अवधिभरिको सवारी विमाको गणना नहुने गरी ट्याक्सी चालकहरुलाई समेत स्वास्थ्यकर्मीसरह कोरोना विमाको ब्यबस्था मिलाइयोस्, विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार यात्रु, चालक र सवारी साधन सुरक्षीत रहने विधि निर्माण गरी आबस्यक सुरक्षा सामग्री माक्स, पिपिई, सेनिटाईजर, पन्जा उपलब्ध गराइयोस्, ट्याक्सीमा सवार यात्रुको तथ्यांक राखी अन्य विषयमा निजी चारपाङ्ग्रे सवारी संचालनका लागि बनाइएको मोडालिटी अनुसारनै तत्काल भाडा कार अर्थात ट्याक्सी संचालन गर्ने ब्यबस्था मिलाइयोस्, विभिन्न समयमा बुझाइएका ध्यानाकर्षण गराइएको बैज्ञानिक भाडा दर लागू गर्न ध्यान दिइयोस्” लगायतका माग राखेर यही असार ८ र १० गते यातायात मजदुरहरुले ज्ञापन पत्र बुझाएका थिए ।