थप ५३८ जना कोरोना पुष्टि, कूल संक्रमित १० हजार ९९ पुगे

९ असार ०७७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ५३८ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएको छ ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा.जागेश्वर गौतमले थप ५३८ संक्रमित मध्ये महिला ९० र पुरुष ४४८ रहेको बताए । योसँगै नेपालमा कोभिड–१९ को कूल संक्रमित संख्या १० हजार ९९ पुगेको छ ।

प्रवक्ता गौतमले आज ७६ जना डिस्चार्ज भएको बताउँदै डिस्चार्ज हुने संख्या १८९ महिला, २०३५ पुरुष गरी कूल २२२४ जना पुगेको बताए ।

बागमती प्रदेशको रसुवा जिल्लाबाहेक ७६ जिल्लामा कोभिड–१९ संक्रमण देखिएको समेत प्रवक्ता गौतमले जानकारी दिए ।

यस्तै उपत्यकाबाहिरबाट काठमाडौं प्रवेश गरेका नागरिकलाई केही घरबेटीहरुले पीसीआर नगरी घरमा प्रवेश गर्न रोक लगाएकोप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको बताए ।

उपत्यकाबाहिरबाट काठमाडौं आउनेहरु १४ दिनसम्म होम क्वारेन्टाइनमा बस्ने र लक्षण देखिएमात्रै परीक्षण गर्नुपर्ने भन्दै उनले घरबेटीहरुलाई अनावश्यक दबाब नदिन सुझाएका छन् ।