खानी सञ्चालन गर्न सरकारको उदसिनता, आत्मनिरर्भर बन्नु पर्नेमा सांसद सिग्देलको जोड

९ असार ०७७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद केदार सिग्देलले तनहुँ जिल्लाको शुक्ला गण्डकी नगरपालिका र आँबु गाउँपालिकाको लाब्दी खोलामा रहेको फलाम खानीलाई सञ्चालन गर्नु पर्नेमा जोड दिएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सिग्देलले तनहुँको ढोरफिर्दी मिनम खानीबाट आजभन्दा १५० वर्षअघि उत्खनन गरिएको फलामबाट निर्मित पुल भिमाद सेती नदीमा अद्यावधिक कायम रहेको भन्दै योजनामा छुटे हो भने प्राथमिकतामा समावेश गरी खानी सञ्चालनको आवश्यक प्रक्रिया अगाडि बढाउन जोड दिएका हुन् ।

उनले भने, “तनहुँ जिल्लाको शुक्ला गण्डकी नगरपालिकाको वडा नं. १० मा रहेको ढोरफिर्दी मिनम खानीबाट आजभन्दा १५० वर्ष अघि उत्खनन गरिएको फलामबाट भिमाद सेती नदीमा साङ्ले पुल बनेको थियो, त्यो अद्यावधिक कायम छ । नेपाल सरकारले उक्त फलाम खानी र तनहुँ जिल्लाकै आँबु गाउँपालिकाको लाब्दी खोलामा रहेको फलाम खानीलाई सञ्चालन गर्न किन प्राथमिकता दिइरहेको छैन् । यदि, छुटे हो भने समावेश गरी ती फलाम खानी सञ्चालन गर्न आवश्यक प्रक्रिया अगाडि बढाउनु माग गर्दछु ।”

यस्तै तनहुँकै रिसिङ र घिरिङ लगायतका क्षेत्रमा कोभिड–१९ संक्रमण बढेको भन्दै उनले स्थानीय तहहरुमा क्वारेन्टाइन, आइसोलेसन वार्ड साथै बेडहरुको व्यापक अभाव भएकाले आइसोलेसन तथा उचित बेडको व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण समेत गराए ।

सांसद केदार सिग्देलको सम्बोधनको सम्पादित अंश :

सम्माननीय सभामुख महोदय,
कृषि प्रधानदेश नेपालले ३५/४० वर्ष अघिसम्म खाद्यान्न लगायत कैयौं वस्तु निकासी गरेर विदेशी मुद्रा आर्जन गर्दथ्यो । २०४८ सालयता निजीकरणका नाममा भएका उद्योग धन्दाहरु कौडीको मूल्यमा बेचियो । अहिले औधोगिक वस्तुमा परनिर्भर, कृषिमा पनि परनिर्भर हुँदै वार्षिक एक खर्ब भन्दा बढीको खाद्यान्न आयत गर्नुपर्ने अवस्थामा मुलुक पुगेको छ ।

सम्मननीय सभामुख महोयद,
वर्तमान सरकारले केही वस्तुहरुमा आत्मनिर्भर बनाउने प्रतिबद्धता र कार्यक्रम, बजेट प्रस्ताव गर्नु सह्रानीय कुरा छ । तर, कुखुरको अण्डामा आत्मनिर्भर भन्ने तर दानामा परनिर्भर ? दानामा आत्मनिर्भर भन्ने तर दाना बनाउने मकैमा परनिर्भर ? केही औधोगिक वस्तुमा आत्मनिरर्भर तर उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ मध्ये अधिकांश कच्चा पदार्थ जुट मात्रै पनि ७० हजार मेट्रिकटन मध्ये ५० हजार मेट्रिकटन विदेशबाट ल्याउनु पर्ने अवस्थाले कुनै पनि वस्तुमा हामी वास्तविकरुपमा आत्मनिरर्भर बन्न सकेनौं । तसर्थ, आगामी आर्थिक वर्षमा वस्तुमा आत्मनिर्भर बन्न सक्ने अवस्था देखिएको छैन् । यसकारण आगामी आर्थिक वर्ष आत्मनिर्भर बनाउनका निम्ति प्रतिबद्धता गरिएका कच्चा पदार्थको उत्पादनमा विशेष योजनाका साथ लाग्न सभामुखमार्फत् सकारको ध्यानाकर्षण गराउन चाहन्छु ।

सभामुख महोयद,
देशको तराई क्षेत्रमा पर्याप्त उखु उत्पादन हुन्छ । अहिले पनि चिनी उद्योगहरु १४/१५ वटा सञ्चालनमा आउन सक्ने अवस्थामा छन् । देशमा खपत हुने चिनी अहिले पनि वार्षिक १ लाख मेट्रिकटनभन्दा बढी आयत भइरहेको छ । तसर्थ आगामी आर्थिक वर्षमा स्वदेशी उखु र स्वदेशी मजदुर प्रयोग गरेर सबै चिनी मिलहरु सञ्चालनमा ल्याउन र सबै नेपालीले स्वदेशी चिनी प्रयोग गर्न सक्ने गरी अग्रसरता लिन उद्योग मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु ।

सभामुख महोयद,
तनहुँ जिल्लाको शुक्ला गण्डकी नगरपालिकाको वडा नं. १० मा रहेको ढोरफिर्दी मिनम खानीबाट आजभन्दा १५० वर्ष अघि उत्खनन गरिएको फलामबाट भिमाद सेती नदीमा साङ्ले पुल बनेको थियो, त्यो अद्यावधिक कायम छ । अहिले नेपाल सरकारले उक्त फलाम खानी र तनहुँ जिल्लाकै आँबु गाउँपालिकाको लाब्दी खोलामा रहेको फलाम खानीलाई सञ्चालन गर्न किन प्राथमिकता दिइरहेको छैन् ? यदि, छुटे हो भने समावेश गरी ती फलाम खानी सञ्चालन गर्न आवश्यक प्रक्रिया अगाडि बढाउनु माग गर्दछु ।

सभामुख महोयद,
तनहुँकै रिसिङ घिरङ लगायतका क्षेत्रमा विदेशबाट फर्कने दाजुभाईहरुको माध्यमबाट कोभिड-१९ संक्रमण बढिरहेको छ । स्थानीय तहहरुमा क्वारेन्टाइन, आइसोलेसन वार्ड र बेडहरुको व्यापक अभाव देखिएको छ । त्यसैले ती स्थानहरुमा संक्रमितहरुका लागि आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन साथै आइसोलेसन वार्ड र उचित बेडको व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालयको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु । धन्यवाद !