कालापानी, लिपुलेक, लिम्पियाधुरा क्षेत्रबाट भारतीय सुरक्षाकर्मी फिर्ता जानुपर्दछ – सांसद नारायकाजी श्रेष्ठ

४ असार ०७७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांसद नारायकाजी श्रेष्ठले कालापानी, लिपुलेक, लिम्पियाधुरा क्षेत्रबाट भारतीय सुरक्षाकर्मीहरु फिर्ता जानु पर्ने बताएका छन् ।

बिहीबार राष्ट्रिय सभामा बोल्दै सांसद श्रेष्ठले नेपालले भारतसँग वार्तामा बसेर, कुटनीतिक रुपमा समाधान गर्न तयार रहेको भन्दै यस्तो बताएका हुन् ।

“त्यो भूभाग (कालापानी, लिपुलेक, लिम्पियाधुरा) हाम्रै हो हामीलाई प्राप्त हुनु पर्दछ । त्यो भूभागमा भएको भारतको सैनिक, प्रहरी र सुरक्षाकर्मीहरु सबै फिर्ता जानु पर्दछ,” सांसद श्रेष्ठले भने, “बार्ताका लागि हामी आत्तुर छौं र त्यसका लागि प्रयत्न गरिरहेका छौं ।”

भारतले समेत विवादित भूमि हो भनेर स्वीकार गरेको भूभागलाई उसले आफ्नो नक्सामा प्रकाशित गरेपछि नेपालले वार्ता बस्नका लागि पटकपटक भनेको तर भारतले वार्तामा ध्यान नदिएको भन्दै उनले अब त्यो भूभागलाई फिर्ता ल्याइने बताए ।

सीमा विवाद समाधान गर्न परराष्ट्र सचिवस्तरीय उच्चस्तरीय समिति बनेको भए पनि समितिको बैठक नै बस्न नसकेको सांसद श्रेष्ठले वार्ताबाटै समस्या हल गर्न भारत तयार हुनु पर्नेमा जोड दिए ।

सुगौली सन्धिले हाम्रो भूभाग भनेर निर्धारण गरेको भूभागलाई त्यसयता कुनै अर्को सन्धिले भारतलाई हस्तान्तरण नगरेको हुँदा यसमा विवाद गर्नु जरुरी नरहेको पनि उनले बताएका थिए ।