स्वरोजगार ट्याक्सी व्यवसायी रोगले भन्दा भोगले मर्नेस्थितिमा सडकमा आउनुको विकल्प छैन् !

म सरकारले गरेको राम्रो कामको स्वागत गर्न चाहन्छु, जुन मोटरसाइकलमा एकजना मात्रै सवार हुन पाउने व्यवस्था सह्रानीय छ । तर, सँगसँगै प्रश्न उठेको छ : एउटै परिवारको सदस्य श्रीमान र श्रीमती एउटै मोटरसाइकलमा हिँड्न किन नपाउने ? पाउनु पर्दछ तर नाता प्रमाणित हुने परिचय पत्र देखाउनु पर्छ र प्रहरीले सहजीकरण गर्नु उचित हुन्छ ।

दिलिप कुमार श्रेष्ठ

विश्वव्यापीरुपमा ट्याक्सी सेवा दोस्रो एम्बुलेन्स हो । कहिले बन्द हुँदैन् र गरिँदैन । तर, नेपालमा किन यस्तो ? नेपाल सरकारले हालै परिवर्तन गरेको लकडाउनको मोडालिटीमा ‘हुनेखानेलाई चैन, सानालाई ऐन’ भनेझैँ गरेको छ ।

म सरकारलाई प्रश्न गर्न चाहान्छु, “ठूला बडा र हुनेखानेका निजी सवारीसाधन बन्दाबन्दीमा खुला गरिएको छ, यो केका लागि ? यात्रुलाई चोकचोकमा बसेर सेवा दिन्छु भन्दै भाडा असुलेर लुट मच्चाउनको लागि हो ? यसले गरिखाने श्रमवीजी वर्गको दैनिकी र जनजीवनमा कुनै परिवर्तन गराएको छैन् । आर्थिक चलाएमान पनि भएको छैन् । आर्थिक चलाएमान बनाउन जनजीवन सहज बनाउनु पर्दछ । जनजीवन सहज बनाउन सार्वजनिक सवारीसाधन चलाउनुको विकल्प नै छैन् ।”

अनुगमन गर्नुस् चोकचोक बसेर निजी कारले ट्याक्सीको काम गरिरहेको छ । यो आवाज पटकपटक यातायात व्यवसायी महासंघ र ट्याक्सी संघले ध्यानाकर्षण गराउँदा सम्बन्धित निकायबाट किन सुनुवाई भइरहेको छैन् ।

स्वरोजगार बन्नका लागि खाडीमा ५५ डिग्री घाममा बगाएको पसिनाको कमाई र ऋण खोजेर जम्मा गरेको २/३ लाख रुपैयाँले नेपाल सरकारको नीति नियममा बसेर यातायात व्यवासाय सञ्चालन गर्नेहरुलाई लकडाउनको हबला दिएर घर र ग्यारेजमा थुन्ने अनि निजी सवारी साधन चल्न दिएर कस्तो लकडाउन गरेको हो सरकार ?

आज स्वरोजगार यातायात व्यवसायी मजदुरहरु बैंकको किस्ता ब्याज, सवारी बिमा, सवारी कर हरेक डकुमेन्ट नवीकरण साथै सवारीसाधन मर्मत संभार गर्न र घरभाडा तिर्न सक्ने स्थितिमा छैनन् । यदि यसबाट विकसित हुने घटना बाध्यात्माक सामुहिक आत्माहत्या गर्नुपर्ने अवस्था आयो भने कसले जिम्मा लिन्छ सरकार ? राज्य जिम्मेवार बन्ने कि नबन्ने ?

म सरकारले गरेको राम्रो कामको स्वागत गर्न चाहन्छु, जुन मोटरसाइकलमा एकजना मात्रै सवार हुन पाउने व्यवस्था सह्रानीय छ । तर, सँगसँगै प्रश्न उठेको छ : एउटै परिवारको सदस्य श्रीमान र श्रीमती एउटै मोटरसाइकलमा हिँड्न किन नपाउने ? पाउनु पर्दछ तर नाता प्रमाणित हुने परिचय पत्र देखाउनु पर्छ र प्रहरीले सहजीकरण गर्नु उचित हुन्छ ।

लकडाउनमा सरकारले ल्याएको मोडालिटीले गरिखाने श्रमजीवी मजदुर वर्ग र स्वरोजगार ट्याक्सी चालकहरु जो दिनभर काम गरेर बेलुकी चुल्होमा पुग्नुपर्दथ्यो उनीहरु नै सबैभन्दा बढी मारमा परेका छन् । विगतका दिनहरुमा पनि निजी सवारी साधनको दुरुपयोग भएकै हो र अहिले नहुने कुरै भएन् । त्यसैले सार्वजनिक सवारी साधनले गर्ने काम निजी सवारीले गर्ने अवस्थामा सोकोविरुद्ध ट्याक्सी व्यवसायी स्वरोजगार चालक मजदुरहरु स्वतस्फूर्त सवारीसाधन लिएर व्यक्तिगत स्वस्थ्य सुरक्षा अपनाएर जनताको सेवामा सडकमा एकसाथ आउँदा के हुन्छ ? सरकारलाई अनुरोध छ, “बिरालोलाई चारैतिरबाट छेकेर लाठी हान्न खोजियो भने अवस्य पनि उ आफ्नो ज्यान जोगाउन जाइलाग्न सक्छ ।” त्यसैले निजी सवारीसाधन जोर विजोर प्रणालीबाट चल्न दिने तर स्वरोजगार ट्याक्सीहरुलाई ग्यारेजमा थन्क्याउन विवश बनाउने हो भने हामी रोगले भन्दा भोगले मर्नेस्थितिमा सडकमा आउनुको विकल्प छैन् । सरकारको बेलैमा आँखा खुलोस् ।

लेखक, उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका केन्द्रीय सदस्य हुन् ।