३१ जेठ ०७७, काठमाडौं । जनता समाजवादी पार्टी संसदीय दलको बैठकले संविधान संशोधनको विपक्षमा मतदान गर्ने सांसदलाई बर्खास्त गर्ने निर्णय गरेको छ ।
जसपाका सांसद मोहम्मद इस्तियाक रायका अनुसार संसदीय दलको बैठकले संविधानको अनुसूची ३ को निशान छापमा अध्यावधिक गर्ने प्रस्तावको पक्षमा मत हाल्न सांसदहरुलाई निर्देशन गरिएको छ ।
समाजवादी पार्टीले संशोधनको विपक्षमा मत हाल्ने सांसदलाई बर्खास्त गर्ने निर्णय गरेसँगै संविधान संशोधनको विपक्षमा रहेकी सरिता गिरीको सांसद पद धरापमा परेको छ ।
समाजवादी पार्टीकी सांसद गिरीले संविधान संशोधन गर्न नहुने प्रस्ताव संसद सचिवालयमा दर्ता गरेकी थिइन् । उनलाई आफ्नो प्रस्ताव फिर्ता लिन संसदीय दलको बैठकले निर्देशन समेत दिएको छ ।
संघीय संसद प्रतिनिधि सभाको आज बस्ने बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ माथि दफावार छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने साथै दफावार छलफलपछि कानुनमन्त्री तुम्बाहाङ्फेले उक्त विधेयकलाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
हालै सरकारले ल्याएको संविधान संशोधन विधेयकलाई सबै राजनीतिक दलहरुले समर्थन जनाएका छन् ।