“अहिले नेकपा नेतृत्वको सरकार छ, बेपत्ता योद्धाहरुको अवस्था सार्वजनिक गर्ने उपयुक्त वातावरण छ; वर्तमान सरकार र पार्टीले बेपत्ताको बारेमा परिवारलाई प्रष्टसँग भनिदिनु पर्दछ; बेपत्ताको अवस्था तत्काल सार्वजनिक गर्नुपर्दछ ।”
७ जेठ ०७७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य मणि थापाले बेपत्ता योद्धाहरुको स्थिति सरकारले सार्वजनिक गर्नुपर्ने बताएका छन् ।
जनयुद्धका क्रममा बेपत्ता पारिएका योद्धाहरुको स्मृति दिवसका सन्दर्भमा बुधबार सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता थापाले यस्तो बताएका हुन् ।
सत्तारुढ दल नेकपा र सरकारले बेपत्ता योद्धाहरुको स्मृति दिवस कर्मकाण्डीरुपमा मनाउनु, वक्तव्यबाजी गर्नुभन्दा उनीहरुका परिवारलाई वास्तविक अवस्था प्रष्ट बताइदिनु पर्ने भन्दै सत्यतथ्य सार्वजनिक गर्नुपर्नेमा उनले जोड दिए ।
“शान्ति प्रक्रियामा आइसकेपछि कैयन पटक जनयुद्धका नेतृत्व र नेताहरु सरकारमा गएपनि बेपत्ताहरुको स्थितिबारे मौनता देखिनु योद्धाहरुप्रतिको अपमान हो” नेता थापाले भने, “सत्तासिन पार्टी र वर्तमान सरकारले स्मृति दिवसका अवसरमा बेपत्ता परिवारलाई सहानुभूति दिनुभन्दा उनीहरुको अवस्था के हो सार्वजनिक गर्नु पर्दछ ।”
उनले वक्तव्यवाजी र फोस्रो सहानुभूतिको चरण सकिएको भन्दै बेपत्ता योद्धाका परिवारहरुले ‘जिउँदो भए सास चाहियो, नभए लाश चाहियो’ भनेको पनि दशक बितेको बताए ।
“बेपत्ता योद्धाका सन्दर्भमा फोस्रो वक्तव्यवाजी र सहानुभूतिको चरण सकिएको छ अब नक्कली कुराको अर्थ छैन्,” नेता थापाले भने, “अहिले नेकपा नेतृत्वको सरकार छ, बेपत्ता योद्धाहरुको अवस्था सार्वजनिक गर्ने उपयुक्त वातावरण छ; वर्तमान सरकार र पार्टीले बेपत्ताको बारेमा परिवारलाई प्रष्टसँग भनिदिनु पर्दछ; बेपत्ताको अवस्था तत्काल सार्वजनिक गर्नुपर्दछ ।”
दशवर्षे जनयुद्धका क्रममा राज्य र विद्रोही पक्षबाट १ हजारभन्दा बढी नागरिक बेपत्ता पारिएको तथ्याङ्क देखिन्छ । राष्ट्रिय मानवअधिकार आयोगका अनुसार राज्यबाट ८ सय ४२ र तत्कालीन नेकपा माओवादी पक्षबाट १५२ व्यक्ति बेपत्ता पारिएको तथ्याङ्क छ । तर बेपत्ता परिवार समाजको तथ्याङ्कमा भने राज्यद्वारा बेपत्ता पारिएका व्यक्तिको संख्या १ हजार ९५ रहेको छ ।
बेपत्ता परिवारलाई आफ्ना आफन्त आउने आस अझैसम्म रहेको छ । उनीहरु हराए, मारिए वा जिउँदै छन्, अहिलेसम्म केही सार्वजनिक नहुनु बिडम्बना नै हो ।
सशस्त्र द्वन्द्वपछि शान्ति सम्झौता भएको लामो समय बितिसक्दा पनि राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएका मानिस अझै सम्पर्कमा आएका छैनन् ।