छाङरुको गागामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट स्थापना

३१ बैशाख ०७७, दार्चुला । छाङरुको गागामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरिएको छ ।

सशस्त्र प्रहरी निरीक्षक मिलिबहादुर चन्दको नेतृत्वमा २५ जना सशस्त्र प्रहरी बीओपीमा रहेका छन् ।

नेपाल सरकारले गत मंसिरमा गरेको निर्णयअनुसार व्यास गाउँपालिका–१ छाङरुमा बाह्रै महिना सुरक्षाकर्मी बस्ने गरी बीओपी स्थापना गरिएको हो ।

सशस्त्रको बीओपी स्थापनाका स्थानीयले एक वर्ष पहिले छाङरुमा कित्ता नम्बर ३५ को ११५ रोपनी ३ आना जग्गा मध्ये १५ रोपनी जमिन दिइसकेका छन् ।

नेपाल सरकारले बीओपी स्थापनाका लागि ११ करोड बजेट विनियोजन गरेको छ ।

प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले छाङरुमा भौतिक पुर्वाधार निर्माण नभएकाले केही समय छाङरुबाट एक किलोमिटर वर गागामा स्थानीयको घर भाडामा लिएर सशस्त्र प्रहरी बसेको जानकारी दिए ।

अहिले सशस्त्र प्रहरी बसेको छाङरु गाउँभन्दा कालापानी १३ किलोमिटर र लिपुलेक १७ किलोमिटर टाढा पर्दछ ।

छाङरुमा सुरक्षा पोष्ट राखेर राज्यको उपस्थिति देखिए पनि सीमा सुरक्षा गर्न कठिन हुने स्थानीय बताउँछन् ।

यसअघि गत फागुन पहिलो साता नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको टोलीले सशस्त्र प्रहरीको बीओपी स्थलको हवाई निरीक्षण गरेको थियो ।

छाङरुमा नेपाल प्रहरी पनि
प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले सशस्त्र प्रहरीसँगै सेनाको हेलिकोप्टरमा नेपाल प्रहरी पनि छाङरु गएको बताए ।

सई हर्कसिंह महताको नेतृत्वमा ९ जनाको प्रहरी टोली पनि छाङरु गएको हो ।

विगतमा पनि वर्षको ६ महिना छाङरुमा नेपाल प्रहरी बस्दै आएको थियो । हिउँदमा चिसो बढेपछि प्रहरी दुम्लीङ झरेसँगै ६ महिना सीमा क्षेत्र सुरक्षाकर्मीविहीन हुने गरेको थियो ।