महादेवा गाउँपालिकाद्वारा ७ सय परिवारलाई राहत वितरण

देवराम यादव/२१ बैशाख ०७७, सप्तरी । जिल्लाको महादेवा गाउँपालिका वडा नम्बर– १ वडा कार्यालयले शनिबार दलित, विपन्न, असहाय  ७ सय परिवारलाई राहत बितरण गरेको छ ।

महादेवा गाउँपालिका – १ स्थित रहेको पकरीमा आर्थिकरुपले विपन्न रहेका दलित, विपन्न, असहाय परिवारलाई पालिकाले राहत बितरण गरेको हो ।

लामो लकडाउनले साँझ–बिहान गुजारा चलाउन धौधौ भएकाहरुलाई गाउँपालिकाद्वारा राहत बितरण गरिएको महादेवा गापा –१ का वडाध्यक्ष जयश्वर किशोर दासले बताए ।

वडाध्यक्ष दासले राहतस्परुप प्रतिव्यक्ति चामल १५ किलो, दाल २ किलो, खानेतेल १ लिटर, नून १ किलो दिइएको बताए ।

गाउँपालिकाले राहत वितरण केही ढिलो गरेको भए पनि दलित, विपन्न, असहाय परिवारलाई लकडाउनको समयमा वितरण गरेको राहतले विपन्नहरुलाई केही राहत पुगेको नेकपाका जय नारायण यादवले बताए ।

महादेवा गाउँपालिका अध्यक्ष दिपक कुमार यादवले यस वडामा राहत पाउनेको संख्या बढी भएकाले राहत वितरणमा ढिलाई भएको बताए ।
राहत वितरणमा वडा सचिव शिव कुमार मण्डल, नेकपाका दल प्रतिनिधि जय नारायण यादव, नेपाली काँग्रेसका महमद मुस्लिम, राजपाका योगेन्द्र यादव, वडा सदस्य कमल प्रसेला, भगतलाल यादव, बिनोद यादव, सुनिल मण्डल, प्रहरी कार्यालय पकरीका प्रतिनिधि, शसस्त्र प्रहरीका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।