अन्टुफ उपाध्यक्ष कार्कीलाई पितृशोक

१६ बैशाख ०७७, धनुषा । अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ) केन्द्रीय उपाध्यक्ष जयबहादुर कार्कीलाई पितृशोक परेको छ ।

उपाध्यक्ष कार्कीका बुबा मिनबहादुर कार्कीको सोमबार करिब १२ बजेको समयमा घरमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

वि.सं. १९९२ चैत्रमा रामेछापको होदिल (हालको मिथिला नगरपालिका वडा नम्बर ६, धनुषा)मा जन्मिएका दिवंगत कार्कीलाई लामो समयदेखि प्रेसरको समस्या थियो ।

अन्धविश्वास र झारफुकविरोधी पुराना कम्युनिष्ट एवम् समाज सुधारककारुपमा स्थापित कार्कीलाई कतिपयले धर्मविरोधी र नास्तिक समेत भन्ने गर्दथे ।

राजनीतिकरुपमा नेपाल कम्युनिष्ट पार्टीका नेताहरुसित निकट रहेका कार्कीको रामेछाप जिल्लाका कम्युनिष्ट नेता नारायण बाबु श्रेष्ठ, सिन्धुलीका जिल्लाका चर्चित कम्युनिष्ट नेता बासुदेब श्रेष्ठसित बाक्लो उठबस रहेको थियो ।

पञ्चायतकालमा एकपटक वडा अध्यक्ष समेत भई काम गरेका कार्की २०४६ सालको परिवर्तनबाट उत्साहित थिए । तर, राजनीतिमा देखिएका विकृति र टुटफुटका कारण पछिल्लो समय आन्तरिक बहस र छलफलमा बेस्सरी सहभागिता जनाएता पनि खुला रुपमा आउन चाहेनन् ।

गाउँघरमा आधुनिक कृषि प्रणाली भित्र्याउन कृषि प्राविधिकहरुसँग नियमित सम्पर्कमा रहेर गाउँमा आँपको खेति भित्र्याउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

मिथिला नगरपालिका वडा नं ९ मा बस्ती बसेको ५० बर्षभन्दा पनि बढी भइसकेको तर जग्गा दर्ता नभएर ऐलानी जग्गामै संशयमा बस्न परेका नागरिकहरुलाई ढुक्कसित बाँच्न नेपाल सरकारले जग्गा दर्ता प्रमाणपत्र दिनुपर्छ भन्ने उनको दृढ मत रहेको थियो ।

अन्टुफ उपाध्यक्ष जय कार्कीको स्मृतिमा बुवा मिनबहादुर कार्की (भिडियोसहित)