१३ बैशाख ०७७, काठमाडौं । कोरोना भाइरसको महामारी रोकथाम र नियन्त्रणका लागि दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का स्वास्थ्य मन्त्रीस्तरीय भिडियो सम्मेलन सम्पन्न भएको छ ।
शनिबार पाकिस्तानका स्वास्थ्य राज्यमन्त्री डा.जफर मिर्जाको अध्यक्षतामा भएको भिडियो सम्मेलनमा सदस्य राष्ट्रका स्वास्थ्य मन्त्रालय कोरोना महामारी नियन्त्रण गर्न सहयोगी बनेर अगाडि बढ्न सहमत भएको सार्क सचिवालयले जनाएको छ ।
सचिवालयकाअनुसार सम्मेलनमासबै सदस्य राष्ट्रका स्वास्थ्य मन्त्रालयका मन्त्री तथा उच्चाधिकारी सहभागी थिए ।
उक्त सम्मेलनमा सदस्य राष्ट्रका प्रतिनिधिमण्डलले कोभिड–१९ को प्रकोपविरुद्ध लड्न साझा अनुभवहरू आदान प्रदान गरेका थिए ।
भिडियो सम्मेलनमा नेपालका जनसंख््या राज्यमन्त्री नवराज राउत, अफगानिस्तानका स्वास्थ्य सेवा उपमन्त्री डा. वहाद मजरुह, बङ्गलादेशको स्वास्थ्य सेवा महानिर्देशक प्राडा अबुल कलाम आजाद, भुटानको स्वास्थ्य मन्त्रालयका सचिव उर्गेन डोफू, भारतका स्वास्थ्य सेवा महानिर्देशक प्रा. राजीव गर्ग, माल्दिभ्सको जनस्वास्थ्य महानिर्देशक मइमुना अबुबाकुरु र श्रीलङ्काको जनस्वास्थ्य सेवाका उपमहानिर्देशक डा. पाबा पलिहा वादानेको सहभागी रहेको थियो ।
यस्तै सम्मेलनमा सार्कका महासचिव एसाला रुवान विराकुन सहभागी थिए ।
सार्कमा नेपाल, भारत, पाकिस्तान, बङ्गलादेश, भुटान, श्रीलङ्का, माल्दिभ्स र अफगानिस्तान गरी आठ देश सदस्य रहेको छ ।